रेडियो नेपालद्वारा वीरगंजमा स्थलगत बहस सञ्चालन
'आर्थिक सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणमा सबैको सामूहिक प्रयास हुनुपर्नेमा जोड'
बीरगंज । आर्थिक सुशासन सँगै भ्रष्टाचारमुक्त समाज निर्माण र मुलुकको समृद्धिका लागि सबैको सामूहिक प्रयास हुनुपर्ने कुरामा वक्ताहरूले जोड दिनुभएको छ ।

रेडियो नेपालद्वारा वीरगंज उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित स्थलगत रेडियो बहस कार्यक्रममा वीरगंजका उद्योगी, व्यवसायी, नागरिक समाजका अगुवा, युवा समाजसेवी तथा स्थानीय बासिन्दाहरूले वीरगंजको समग्र विकास, स्वास्थ्य, शिक्षा, कृषि पर्यटन क्षेत्रमा भएको परिवर्तन र देखिएका समस्या र त्यसको समाधानका सम्बन्धमा आ आफ्नो बिचार व्यक्त गर्नुभएको थियो ।


वक्ताहरूले मुलुकको भन्सार राजश्वको झण्डै ६० प्रतिशत राजश्व बुझाउने व्यापारिक नगरी वीरगंजको आर्थिक अवस्था, सामाजिक अवस्था, उद्योग वाणिज्य क्षेत्रको स्थिति, सोचेअनुरूप अगाडी बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएकाे थियो।
बहस कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले आर्थिक पारदर्शीता र सुशासन सरकारले चाहेर मात्रै पुरा नहुने हुँदा यसमा आम नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुने कुरामा जोड्दिनुभयो ।

उहाँले समस्यै समस्याबाट समाधान निस्कने हुँदा सबैको नीति राजनीति स्थायित्व भएमा मुलुक अग्रगतिमा अगाडी बढ्ने बताउनुभयो ।
अध्यक्ष गौतमले आगामी बजेटले वीरगंजका उद्योगी व्यवसायीहरूले झेल्नु परेका समस्या निराकरण गर्नेमा आफूहरू विश्वस्त रहेको बताउँदै ६० प्रतिशत राजश्व राज्यलाई बुझाउने वीरगंजलाई विशेष प्याकेज घोषणा गर्नुपर्ने कुरामा जोड्दिनुभयो ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले सीमा क्षेत्रबाट हुने अवैध व्यापारलाई निस्तेज गरी वैद्य व्यापार सहजरुपमा सञ्चालन हुने वातावरण राज्यले मिलाउनु पर्नेमा जोड्दिनुभयो ।

अवैध व्यापारका कारण सीमा क्षेत्रमा अपराधसँगै मूल्यवृद्धि, गुणस्तर हीन बस्तुको आयात जस्ता विकृति विसङ्गति मौलाउँदै गएको हुँदा त्यसलाई नियन्त्रण गर्न राज्यका तिन तहका सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा संघका उपाध्यक्ष मनोज कुमार दासले वीरगंज भौगोलिक रुपमा सम्पन्न भएपनि राज्यले वीरगंजको विकासकालागि आवश्यक बजेट विनियोजनमा विगतमा कन्ज्युस्याई गरेको भएपनि यसपटक राज्यले वीरगंजको माग सम्बोधन गर्ने बताउनुभयो ।
दासले सरसफाई र सौन्दर्यीकरणमा वीरगंजले फड्को मारेको भएपनि राज्यलाई पु¥याएको योगदान अनुरुप बीरगंजको कदर हुन नसकेकोमा दुखेसो व्यक्त गर्नुभयो ।
स्थलगत रेडियो बहस कार्यक्रममा संघका महासचिव शिवजी प्रसाद साहले वीरगंजमा उद्योग व्यवसायको क्षेत्रमा चुनौती सँगै अवसरको अथाह भण्डार रहेको बताउँदै मुलुकका दुई वटा ठुला भन्सार वीर गन्जमै रहेको र वीरगंज पथलैया औद्योगिक करीडोरमा झण्डै १२ सय भन्दा बढी उद्योग कलकारखाना रहेको र यसले हजारौँलाई रोजगारी दिएको समेत बताउनुभयो ।
उहाँले आगामी बजेटमा सरकारले उद्योगमुखी नीति ल्याउनुपर्नेमा जोड्दिनुभयो ।
सो अवसरमा वीरगंजका खुद्रा व्यवसायीहरूले आगामी बजेटमा सरकारले साना व्यवसायीलाई संरक्षण गर्ने नीति ल्याउनुपर्ने बताउँदै आर्थिक गतिशीलता र स्थिरता तर्फ राज्य लाग्नुपर्ने कुरामा जोड्दिनुभयो ।
कार्यक्रममा नागरिक समाजका अगुवा एवं अधिकारकर्मी मनोज उपाध्यायले राजनीतिक स्थायित्व बिना बिकास सम्भव नभएको हुँदा ठुला तिन दलले राजनीति स्थायित्व तर्फ देशलाई लैजानुपर्नेमा जोड्दिनुभयो ।
उहाँले उद्योग र व्यापार क्षेत्रको प्रबद्र्धनका लागि राज्य लाग्नुपर्ने बताउँदै मुलुकको आर्थिक अवस्थालाई गम्भीर रुपमा विश्लेषण गरी सबै क्षेत्रका वर्ग र समुदायलाई राहतका कार्यक्रम ल्याउनुपर्ने दाबी गर्नुभयो ।
बहसमा युवा उद्यमी मञ्च वीरगंजका संस्थापक अध्यक्ष अनुप अग्रवालले नेपाली युवालाई स्वदेशमै लगानी गर्ने वातावरण बनाएमा स्वदेशमै रोजगारी सृजना हुने बताउनुभयो ।
उहाँले रोजगारी सृजना गर्ने अभियानमा आफूहरू जुटेको र त्यसमा राज्यको साथ र समर्थन रहनु पर्ने कुरामा जोड्दिनुभयो ।
कार्यक्रममा वीरगंजका वरिष्ठ चिकित्सक निरज सिंहले मधेस प्रदेशकै स्वास्थ्य र शिक्षाको हब बन्दै गरेको वीरगंजको नारायणी अस्पतालको अवस्थालाई सुधार गर्न राज्यले ध्यान दिनुपर्ने कुरामा जोड्दिनुभयो ।

सो अवसरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर मोनिका यादवले वीरगंजमा देखिएका विकृति विसङ्गतिको अन्त्य गर्न वीरगंजकै नागरिक समाज जुट्नुपर्नेमा जोड दिँदै स्वास्थ्य शिक्षा जस्ता आधारभूत सेवामा समेत वीरगंज लगायत मधेस प्रदेश पछाडि परेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
रेडियो बहस कार्यक्रममा बीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईले मुलुकमा अस्थिर राजनीतिका कारण युवाशक्ति बिदेसिने क्रम बढ्दै गएको र यसलाई नरोकेमा मुलुक भोलीको दिनमा थप सङ्कटमा पर्ने बताउनुभयो ।
राज्यले युवालाई प्राथमिकता दिँदै बिदेसिनबाट रोक्नका लागि विशेष प्याकेज सहितका कार्यक्रम ल्याउनुपर्ने कुरामा जोड्दिनुभयो ।
बहस कार्यक्रममा वीरगंजका विभिन्न क्षेत्रका पेसाकर्मी, शिक्षा विद्, समाजसेवी, उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्