बाँकेमा हावाहुरीले विद्युत् टावर ढाल्दा सेवा अवरुद्ध

बाँके। बुधबार बिहानदेखि आएको हावाहुरी र वर्षाले कोहलपुर–नेपालगञ्ज ३३ केभी प्रसारण लाइनको टावरमा क्षति पुर्याएको छ।
टावर ढलेपछि कोहलपुर–नेपालगञ्ज प्रसारण लाइन अवरुद्ध हुँदा बाँके जिल्लाको विद्युत् सेवा पूर्ण रूपमा ठप्प भएको थियो। केही घण्टामै खजुरा र ग्रामीण फिडर बाहेक अधिकांश क्षेत्रमा लाइन सुचारु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरण नेपालगञ्जका प्रमुख जगन्नाथ लामिछानेका अनुसार क्षतिग्रस्त टावर मर्मतका लागि प्राविधिक टोली खटिएको छ। “३३ केभीको टावर ढलेको छ, त्यसको मर्मत कार्य तीव्र गतिमा भइरहेको छ,” उहाँले भन्नुभयो, “छिट्टै लाइन पुनः सुचारु हुने छ।”
फोरमेन इलेक्ट्रिकल तथा नेपालगञ्ज नो-लाइटका इन्चार्ज विष्णु खत्रीले विद्युत् अवरुद्ध हुँदा नागरिकको दैनिक जीवन र सञ्चारमा कठिनाइ भएकोमा क्षमायाचना गर्दै सकेसम्म चाँडो सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो। खत्रीका अनुसार केही घण्टाभित्रै खजुरा र ग्रामीण फिडरमा पनि लाइन सञ्चालनमा आउनेछ।
प्रतिक्रिया राख्नुहोस्