तपाईँ सुन्दै हुनुहुन्छः

‘भोजपुरको पत्रकारिता क्षेत्रको बिकास र सबलीकरणमा सहयोग हुन्छ’

भोजपुर । भोजपुरको पत्रकारिता क्षेत्रको बिकास र सबलीकरणमा सहयोग गर्ने प्रतिबद्धता स्थानीय पालिकाका जनप्रतिनिधिहरूले गर्नुभएको छ । 

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले मङ्गलवार जिल्ला सदरमुकाममा गरेको ‘पत्रकारिता क्षेत्रको सबलीकरणमा स्थानीय तहको भूमिका’ विषयक अन्तर्संवाद कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले लोकतन्त्र स्थापनाका लागि पत्रकारले खेलेको भूमिका प्रभावकारी भएको भन्दै पत्रकारिता क्षेत्रको विकास र सवलीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो । 

महासङ्घका प्रदेश अध्यक्ष भरत खडकाको अध्यक्षतामा भएको अन्तर्संवादमा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले पत्रकारले आफु बिचमा एकता कायम राख्दै पत्रकारिताको मर्म र धर्म निर्वाह गर्न जरुरी रहेको बताउनुभयो । क्रियाशील पत्रकारलाई स्थानीय स्तरमा नै रोजगारीको अवस्था सिर्जना गर्न सकिने बताउँदै उहाँले जिल्लाका सबै पालिका मिलेर केही बजेट बिनियोजन गर्न सकिएमा चार जनासम्म पत्रकारलाई जिल्ला तहमा नै रोजगारी दिन सकिने बताउनुभयो । 

पौवादुङमा गाउँपालिकाका प्रवक्ता राजेन्द्र तामाङले पत्रकारिता र स्थानीय मिडिया क्षेत्रलाई बलियो बनाउने विषयमा पालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । भोजपुरका ९ वटै पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रममा सहभागिताका लागि बोलाइएकोमा दुई पालिकाको मात्र सहभागिता थियो ।  

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले पत्रकार र स्थानीय सरकारबीचको सहकार्यले मिडिया क्षेत्रलाई बलियो बनाउँदै व्यावसायिक पत्रकारिताको विकासमा पनि टेवा पुर्‍याउने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button