तपाईँ सुन्दै हुनुहुन्छः

‘सिनेपा’ को निर्माण आरम्भ चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाङ्कन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले काभ्रेको बनेपामा निर्माण हुने सो स्टुडियो बन्न नेपाली चलचित्र क्षेत्रले छ दशकदेखि आवाज उठाउनुपरे अब बन्ने प्रक्रिया अघि बढेको बताउनुभयो । प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त निर्माणको निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तन लगायत कारणले काम अवरुद्ध भएको थियो । 

“त्यस बेलाको जति अहिले राज्यको ढुकुटीमा पैसा छैन तर पनि थालेका काम हामी पूरा गर्छौँ । यसको लागत बजेट विनियोजन हुन्छ । थालेपछि सफल हुुन्छ । यसलाई पनि सफल बनाउनुपर्छ । यो निर्माण आरम्भ उद्घोषले यस क्षेत्रमा युग परिवर्तन सुरु भएको छ ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “ओरालो लागेको अर्थतन्त्रलाई हामीले लयमा ल्याएका छौँ, अब यो अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैन । हामी सिने क्षेत्रप्रति सधैँ सकारात्मक र सहयोगी छौँ ।’’

बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा कार्यक्रममा सहभागी सञ्चार मन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले हप्ता–१० दिनभित्र त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिनुभयो ।   

कतिपयले राजनीतिमा पनि अभिनय गर्न थाले पनि आफूहरू राजनीतिलाई यथार्थमा बदल्ने साधनका रुपमा लिएर काम गरिरहेको स्पष्ट गर्नुभयो । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, पूर्व सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल लगायत सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button