तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक : अध्यक्ष यादव

विराटनगर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । 

जनता समाजवादी पार्टी मोरङको प्रथम जिल्ला अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्नुहुँदै अध्यक्ष यादवले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले गरेको सात बुँदे सहमति अनुसार संविधान संशोधनको विषय उल्लेख गरे पनि त्यो कार्यान्वयन हुन नसकेको बताउनुभयो । 

अहिलेको निर्वाचन प्रणालीका कारण सरकार फेरबदल भइरहने भएकाले संविधान संशोधन गरेर निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।   

संविधानमा उल्लेख भए अनुसार संघ, प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने उहाँको भनाई छ ।  

अध्यक्ष यादवले लामो सङ्घर्ष र आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था उल्टाउन गणतन्त्र विरोध शक्ति  सक्रिय भएकाले मुलुकलाई निरंकुशतातर्फ धकेल्ने कुरा नेपाली जनतालाई स्वीकार्य नहुने बताउनुभयो । 

कार्यक्रममा जसपाका सह–अध्यक्ष रकम चेमजोङ, नेता जयराम यादव मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवलगायतले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकाका विषयमा चर्चा गर्नुभयो । 

दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जसपा मोरङले जनाएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button