तपाईँ सुन्दै हुनुहुन्छः

सातौँ महिला राष्ट्रिय फुटबलमा एपीएफको शानदार जित

मकवानपुर । हेटौँडामा सम्पन्न सातौं महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले जितेको छ। हेटौँडा-६ स्थित गौरीटार रङ्गशालामा भएको रोमाञ्चक फाइनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै उपाधि चुमेको हो।

विजेता एपीएफले उपाधिसँगै नगद ७ लाख रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता नेपाल पुलिसले ५ लाख रुपैयाँमा चित्त बुझायो। टाइब्रेकरमा एपीएफका गीता राना, अनिता बस्नेत र निशा थोकरले गोल गरेका थिए। उता, पुलिसका लागि उषा नाथले मात्र गोल गर्न सफल भइन् भने निरु थापा, सुस्मा तामाङ र रेबिका पाण्डेले गोल गर्न नसके। एपीएफकी रश्मि घिसिङको प्रहार पनि सफल हुन सकेन।

प्रतियोगितामा म्यान अफ दि म्याच एपीएफकी गोलरक्षक एन्जिला लामा घोषित भइन्। उनले नगद १० हजार रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गरिन्। मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा चैत १९ गतेदेखि सुरु भएको प्रतियोगितामा देशभरिबाट ८ टोलीले सहभागिता जनाएका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button