तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीयलाई आर्थिक रूपमा सक्षम बनाउँदै ‘नाम्जे थुम्की सामुदायिक होमस्टे’

धनकुटा । धनकुटा जिल्लाको सागुरीगढी गाउँपालिका–६ मा सञ्चालनमा रहेको ‘नाम्जे थुम्की सामुदायिक होमस्टे’ ले स्थानीयलाई सामाजिक र आर्थिक रूपमा सक्षम बनाउँदै ल्याएको छ। जिल्लाकै पहिलो सामूहिक घरबास कार्यक्रमको रूपमा स्थापना भएको यो होमस्टे प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, अर्ग्यानिक परिकार, सरल र सहयोगी स्थानीय बासिन्दा तथा पाहुनासँगको आत्मीय व्यवहारका कारण लोकप्रिय बन्दै गएको छ।

मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १९ परिवारले सामूहिक रूपमा होमस्टे सञ्चालन गरेपछि गाउँको स्वरूप नै परिवर्तन भएको छ। होमस्टेपछि गाउँको आर्थिक स्थिति मात्र नभई चेतनास्तर पनि उल्लेखनीय रूपमा बढेको स्थानीयहरूको भनाइ छ। वर्षभरि चिसो मौसम, हरियाली डाँडाकाँडा, र मनोरम दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

नाम्जे थुम्की सामुदायिक होमस्टे व्यवस्थापन समितिका सचिव तुफानकुमार मगरका अनुसार, होमस्टे सञ्चालनमा आएपछि गाउँका मानिस आर्थिक रूपमा सक्षम हुन थालेका छन्। पहिले अन्योलमा रहेका स्थानीय अहिले पाहुनासँग खुलेर कुराकानी गर्न सक्ने भएका छन्। “पहिले बाहिरबाट आएको पाहुनासँग कुरा गर्न लाज मान्नेहरू अहिले आत्मविश्वासी बनेका छन्,” उनी भन्छन्।

२०६८ साल माघ २३ गते दर्ता भएको यस होमस्टेमा झापा, मोरङ, सुनसरीका साथै भारतको सिक्किम र दार्जिलिङबाट पनि पाहुनाहरू आउने गरेका छन्। होमस्टेमा एकैपटक १५० पाहुना अट्ने क्षमता छ।

होमस्टे सञ्चालक नीलकुमारी मगर भन्छिन्, “दुई–चार पैसा कमाउन थालेपछि सन्तुष्टि मिलेको छ। पाहुनालाई सेवा–सत्कार गर्न पाउँदा खुशी लाग्छ।” उनी गाउँमै बसेर होमस्टे चलाइरहेकी छन् भने आफ्ना छोराछोरीलाई धरान, विराटनगर र काठमाडौंमा राखेर पढाइरहेकी छन्।

भेडेटारबाट करिब ५ किलोमिटर पूर्व–उत्तरमा अवस्थित नाम्जे गाउँ टावरले भरिएका डाँडाहरू, साची खोलाबाट लिफ्टिङ आयोजना मार्फत ल्याइएको खानेपानी र ‘आत्म सम्झने घर’ जस्ता विशेषताले पर्यटकलाई लोभ्याउने गर्छ।

होमस्टे लोकप्रिय भएपछि प्रदेश र स्थानीय सरकारले पनि सहयोग पुर्‍याइरहेका छन्। मुख्य तथा गोरेटो सडक विस्तार, फुटट्रयाक निर्माण, विद्युत् तथा अन्य पूर्वाधार विकासमा कोशी प्रदेश र गाउँपालिकाको सक्रियता देखिएको छ।

सागुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुमजाली राईका अनुसार, पालिकाले होमस्टेको विकासका लागि बजेट छुट्याएको छ। “होमस्टे सञ्चालकलाई तालिम दिनेदेखि गाउँ सफा राख्ने अभियानसम्म पालिका सक्रिय छ,” उनले बताए।

पर्यटकको चाहनाअनुसार बेलुकाको खानापछि मगर समुदायको मौलिक नृत्य प्रस्तुत गरिन्छ। होमस्टेले पर्यटकलाई सस्तो, सुलभ र पारिवारिक वातावरण प्रदान गर्नुका साथै स्थानीयलाई रोजगारीको अवसरसमेत दिएको छ। समितिका अनुसार, १९ परिवारले सञ्चालन गरेको होमस्टेमा वार्षिक ७ देखि ८ हजारसम्म पाहुना आउने गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button