तपाईँ सुन्दै हुनुहुन्छः

कृषि अनुसन्धानमा राज्यको लगानी कम भएको सरोकारवालाहरूको गुनासो 

काठमाडौँ । नेपालको कृषि अनुसन्धानमा राज्यको लगानी कम भएको सरोकारवालाहरुले गुनासो गरेका छन् । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को ३४औँ स्थापना दिवसको पूर्वसन्ध्या पारेर राष्ट्रिय माटो विज्ञान केन्द्रको सभाहल खुमलटार ललितपुरमा आयोजना गरिएको पत्रकार–वैज्ञानिक अन्तरक्रिया कार्यक्रम मा सरोकारवालाहरुले यस्तो गुनासो गरेका हुन । 

नार्कका निमित्त कार्यकारी निर्देशक डा.दोजराज खनालले भविष्यमा झनै पर्न सक्ने खाद्यान्न सङ्कटलाई उत्पादनमा केन्द्रित गर्न राज्यले अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो ।

नार्कका निर्देशक डा.भानुभक्त पोखरेलले नार्कले हालसालै विकसित गरेको प्रविधिबारे जानकारी गराउनुहुँदै ६० प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर रहेको र जिडिपीको २५ प्रतिशत कृषिमा आश्रित भए पनि कृषि अनुसन्धानमा राज्यको लगानी कम भएको बताउनुभयो । “राष्ट्रिय नार्कमा ०.१९ प्रतिशत मात्रै राज्यको लगानी छ । दरबन्दी सङ्ख्याको आधा पनि कर्मचारी छैनन्”, उहाँले भन्नुभयो ।

त्यस्तै, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र का प्रमुख डा। .कालिकाप्रसाद उपाध्यायले गत साल नेपालको केरा उद्योगलाई हाम्रा वैज्ञानिकहरूले समयमै रोग चिनेर ध्वस्त हुनबाट बचाएको जानकारी गराउनुहुँदै राज्यले नार्कका वैज्ञानिक चिन्न नसकेको बताउनुभयो ।

कार्यक्रममा पत्रकारहरूले प्रकाशन प्रसारणलाई नयाँ मिडिया माध्यमको पनि प्रयोग गर्नुपर्ने, हरेक तीन महिनामा अन्तरक्रिया छलफल गर्नुपर्ने र मिडिया व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्। 

कार्यक्रममा राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान निर्देशक डा.राजेन्द्र दराई, राष्ट्रिय पशु विज्ञान अनुसन्धान निर्देशक डा। नीना अमात्य एवं महाशाखा प्रमुख र वैज्ञानिकहरू समेत उपस्थिति रहेको थियो  ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)राष्ट्रिय कृषि अनुसन्धान प्रणालीको अवधारणा अनुरुप वि.सं.२०४८ वैशाख २५ मा स्थापित स्वायत्त सरकारी संस्था हो ।कृषि सम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने गराउने, कृषि क्षेत्रका समस्याहरूको निराकरणका उपायहरू पत्ता लगाउने र कृषि सम्बन्धि नीति तर्जमाको लागि नेपाल सरकारलाई आवश्यक सहयोग गर्ने उद्देश्यले नार्कको स्थापना गरिएको हो । जातीय तथा नश्ल विकास, कृषि प्रविधि विकास, स्रोत सामाग्री उत्पादन, जैविक विविधता संरक्षण, सामाजिक(आर्थिक तथा नीतिगत अनुसन्धान र प्रविधि हस्तान्तरण र सेवा तथा परामर्श नार्कको कार्यक्षेत्र रहेको छ ।

हालको भौगोलिक तथा पारिस्थितिकीय विविधताको प्रतिनिधित्व हुने गरी नार्कले विभिन्न क्षेत्रमा अवस्थित ६३ वटा कार्यालयमार्फत अनुसन्धान कार्यक्रम सञ्चालन गर्दै आएको छ । नार्कले कल सेन्टर ११३५ बाट किसानका जिज्ञासा समाधान गर्ने, ७५३ वटै पालिका तथा कृषिसँग सम्बन्धित निकायहरूमा कृषि मौसम सल्लाह बुलेटिन पठाउने पनि गरेको छ । 

सबल कृषि अनुसन्धान: खाद्य सुरक्षा र समृद्धिको लागि वरदान भन्ने नाराका साथ भोली बिहीबार आफ्नो स्थापना दिवस मनाउन लागेको पनि नार्कले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button