तपाईँ सुन्दै हुनुहुन्छः

संकटमा काठका भाँडा बनाउने पेशा

बाजुरा | सुदूरपश्चिमको बाजुरा लगायतका जिल्लामा प्रचलित परम्परागत काठका भाँडा बनाउने पेशा अहिले अस्तित्वको संकटमा परेको छ। पुस्तौँदेखि काठका भाँडा–कुडा बनाउँदै आएका व्यवसायीहरू अब यो पेशाबाट हात झिक्न थालेका छन्, जसका कारण यो पेशा लोप हुने स्थितिमा पुगेको छ।

बडिमालिका नगरपालिका–५ का कृष्ण चदारा, जो लामो समयदेखि भाँडा बनाउने पेशामा संलग्न हुनुहुन्छ । उहाँ “यो पेशाबाट मेहनत अनुसारको आम्दानी नहुने भएपछि गुजारै मुस्किल भएको ।” बताउनुहुन्छ । परम्परागत रूपमा चदारा समुदायले अंगालेको यो पेशा हाल जीविकोपार्जनका लागि पर्याप्त नभएपछि संकटमा परेको उहाँकाे बुझाई छ ।

खप्तड छेडेदह गाउँपालिका–३ का अर्का व्यवसायी राजेन्द्र चदाराको गुनासो पनि उस्तै छ। “पहिले काठका भाँडा बनाएवापत प्रत्येक घरबाट ‘खलो’ अर्थात अन्न पाउने चलन थियो, अहिले त्यो पनि हराउँदै गएको छ,” उहाँले भन्नुभयाे।

पछिल्ला वर्षहरूमा प्लास्टिकका भाँडा सर्वसुलभ र लोकप्रिय हुँदै गएपछि काठका भाँडाको माग घट्दै गएको छ। आधुनिकताको चपेटामा परेका उपभोक्ताहरूले परम्परागत सामग्रीको सट्टा आधुनिक विकल्प रोज्न थालेका छन्।

एक समय एक गाउँमा दर्जनभन्दा बढी परिवारले अंगालेको यो पेशामा अहिले जिल्लाभर दुई–चार जनामात्र सक्रिय रहेको पाइएको छ। युवापुस्ताले यो पेशाबाट पर्याप्त आम्दानी नहुने देखेपछि वैकल्पिक रोजगार र विदेशिनेतर्फ आकर्षण बढाएका छन्।

स्थानिय आरन व्यवसायीहरूले राज्यले अन्य व्यवसायीलाई जस्तै काठका भाँडा बनाउनेहरूलाई पनि सहयोग गरेमा यो पेशा जोगाउन सकिने विश्वास व्यक्त गरेका छन्। उनीहरू भन्छन्, “सरकारको सहयोग र प्रविधिसँग मेल खाने तालिम तथा बजार व्यवस्थापन भएमा परम्परागत पेशामा नयाँ जीवन दिन सकिन्छ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button