तपाईँ सुन्दै हुनुहुन्छः

कारले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु 

वीरगञ्ज । पूर्व पश्चिम लोकमार्गको रौतहटको चन्द्रनिगाहपुर सडकखण्डमा आज कारले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा रौतहटको गरुडा नगरपालिका–३ मलाहिटोल बस्ने ६० वर्षीय बलिराम सहनी र उनकी छोरी ४० वर्षीया उर्मिलादेवी सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतक सहनीले चलाएको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको  थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको कारले निजगढतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका मोटरसाइकल चालक सहनीको चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र मोटरसाइकलमा सवार उर्मिलादेवीको आजै उपचारको क्रममा एलएस न्युरो अस्पताल वीरगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम्  डिएसपी दीपक कुमार रायले जानकारी दिनुभयो । 

ठक्कर दिने कार र चालक हेटौँडा उपमहानगरपालिका बडा नम्बर १२ निवासी ४३ वर्षीय कुमार पोख्रेललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button