विनाशकारी भुकम्पपछिका १० वर्ष : मुहान सुकेपछि गाँउ नै खण्डहर
पानी सुक्दै गयो, किरसे उजाडिंदै गयो
दोलखा। दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ८ खारेमा एउटा गाँउ छ किरसे । यो गाँउ विगतमा सुन्तला खेतीको लागि जिल्ला भरीनै प्रख्यात थियो । २०७२ सालको विनाशकारी भुकम्प पछि भने यो गाँउ खण्डहर जस्तै बनेको छ ।
भुकम्प लगतै गाँउको नजिक रहेको देवीथान पधेरो र जामुने खोल्चामा रहेका दुईवटा पानीको मुहान सुकेपछि किरसेका झण्डै १० घर धुरीका वासिन्दा अन्यत्र सर्न बाध्य भए । त्यसपछि उर्बर गाँउ खण्डहर बनेको स्थानीय जेष्ठ नागरिक कृष्ण बहादुर तमाङले बताउनुभयाे ।

सिन्धुपाल्चोकको लिसंखुतिरबाट आएका तमाङ समुदाय किरसेमा बस्न थालेको सात पुस्ता वितिसकेको कृष्णबहादुरको भनाई छ ।
किरसेका स्थानीय अहिले वडा नम्बर– ८ खारेकै लुङ्गटा र खारेखोला तथा चंखु– मार्वुको बरुमा स्थानान्तरण भएका छन् । कोही– कोही भने जिरी, काठमाण्डौ र विदेशमा समेत गएको स्थानीय गोकर्ण तमाङले बताउनुभयाे ।

स्थानीय सरकारले पानीको व्यवस्था गरेर आफ्नै थातथलोमा फर्कने वातावरण बनाउछन् की भनेर १० बर्षसम्म पर्खदा पनि कुनै वास्ता नगरेको गोकर्ण तमाङको गुनासो छ । भुकम्प पछि वसाई आएको लुङ्गटा र खारेखोला पनि पहिरोको जोखिममा छ, जमिन पनि धेरै छैन स्थानीय गोकर्ण तमाङले भन्नुभयाे– त्यसैले हामी जेसुकै हुन्छ होस भनेर किरसेमै फर्कने तयारीमा छौ ।

२०७२ सालको भुकम्पले किरसेको घरहरुलाई धेरै ठुलो क्षति पुगेको थिएन गोकर्ण तमाङले भन्नुभयाे– पानीको मुहान सुकेर स्थानीयले गाँउ छोडेपछि भने आगलागी र लार्पवाहिले धेरै घरहरु ढलेको हो । अहिले गाँउमा स्थानीय कृष्ण बहादुर तमाङको एउटा भग्नावशेष घरमात्र बाँकी रहेको उहाँले बताउनुभयाे ।

आफु र अर्का छिमेकी रत्नबहादुर तमाङले किरसेमै सुन्तला खेती सुरु गरेर घर बनाउने तयारी गरेको गोकर्ण तमाङको भनाई छ । ‘अझै पनि सरकारले किरसेको उर्वर भूमिलाई वस्न योग्य बनाउन पानीको व्यवस्था गरिदिन्छ कि भन्ने आश मारेका छैनौ’,उहाँले भन्नुभयाे ।

करिब ४ सय रोपनी जमिन रहेको किरसेमा सुन्तला, केरा, आलु, मकै, कोदो, धान लगायतका खेती हुने भएकोले यहाँका स्थानीयलाई खाने कुनै समस्या थिएन, कृष्ण बहादुरले भन्नुभयाे– सुन्तला बिक्रिबाट त राम्रो आम्दानी समेत लिने गरेका थिए ।
किरसेको सुन्तलाको चर्चा आसपासका हरेक मठ– मन्दिरमा लाग्ने जात्रा र पुजा हरुमा समेत हुने गरेको अर्का जेष्ठ नागरिक आरत बहादुर तमाङ बताउनुहुन्छ ।
आसपासका हरेक जात्रा– पुजाहरुमा,सुन्तला मिठो किरसेको, किरसेको मायाले बिर्सेको…….भन्दै युवा– युवतीहरुले दोहोरी गाँउदै ठुम्का लगाउने गरेको आरत बहादुरले सुनाउनुभयाे । तर अहिले गाँउ खण्डहर बनेको छ, सुन्तलाका बोटहरु पानीको अभाव र डढेलोले सखाप भएका छन्– आरत बहादुरले भन्नुभयाे ।

किरसेको अर्का जेष्ठ नागरिक ८४ बर्षिय मुगी घिसिङ भुकम्प अघि असाध्य उर्वर किरसे गाँउ छोड्नु पर्दा आफुलाई पीडा हुने गरेको बताउनुहुन्छ । किरसेमा रहेका सुन्तलाको एउटा बोटमा पाँच हजार दानासम्म सुन्तला फल्ने गरेको थियो, फलफुल तथा खाद्यान्न बाली प्रशस्त हुने भएकोले गुजारामा कुनै समस्या थिएन मुगी घिसिङले भन्नुभयाे ।

भुकम्प पछि पानीको मुहान सुकेर गाँउ छोड्न बाध्य भएका घिसिङ अहिले दैनिक गुजारा गर्नै मुस्किल भएको गुनासो गर्नुहुन्छ । उब्जनीको समस्याले स्थानान्तरण भएकाहरु पनि काठमाडौँ र विदेशमा मजदुरी गर्न जान बाध्य भएको स्थानीय युवा सुवराज तमाङ बताउनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्