भेरी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु

बाँके । भेरी अस्पतालमा आज मङ्गलवारदेखि मृगौला प्रत्यारोपण सेवा सुरु भएको छ । मृगौला पीडित ४० र ३७ वर्षका दुई जना पुरुषको मृगौला प्रत्यारोपण गरेर सेवा सुरु गरिएको हो । यो सँगै भेरी अस्पताल मृगौला प्रत्यारोपण गर्ने लुम्बिनी प्रदेशकै पहिलो अस्पताल बनेको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीका अनुसार मिर्गौला प्रत्यारोपण गर्नका लागि सहिद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसहित १४ जनाको टिम नेपालगन्ज आएर प्रत्यारोपण गरेको हो । उक्त टिमले दुई जना बिरामीको मृगौला प्रत्यारोपण गरेर सेवा सुरु गरेको भेरी अस्पताल बिकास समितिका सदस्य डा. डक्ट प्रसाद धितालले जानकारी दिनु भयो ।
मेसु डा. सुवेदीले सेवा सुरु भएसँगै अब महिनामा एक जना बिरामीको मृगौला प्रत्यारोपण गरिने बताउनु भयो । ‘भेरी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु भइसकेको छ, अब यो सेवा निरन्तर चल्छ, केही समयसम्म महिनामा एक पटक मृगौला प्रत्यारोपण गर्ने योजना बनाएका छौँ,’ उहाँले भन्नुभयो ‘यो सेवालाई निरन्तरता दिनको लागि स्रोत साधन पनि खर्च हुन्छ ।’ अस्पतालमा हाल मृगौला प्रत्यारोपण गर्नका लागि यूरोलोजी विशेषज्ञ, डा. दिपेश गुप्ताले लाइसेन्स (अनुमति) प्राप्त गरिसकेका छन् । उनीसहित अन्य विशेषज्ञ चिकित्सकहरू पनि अस्पतालमा कार्यरत छन् ।
अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले मृगौला प्रत्यारोपण सेवाले भेरी अस्पतालको उचाई झनै बढाएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्