मकैको खोस्टा र थाकलबाट फूल बनाउने तालिम: राप्ती सोनारीका महिला आत्मनिर्भर बन्दै
बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिकाका महिलालाई सुकेको मकैका खोस्टा र वनजङ्गलमा पाइने थाकलको पातबाट फूल बनाउने तालिम दिइएको छ। राप्ती सोनारी–६ ले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन यो तालिम आयोजना गरेको हो।

गाउँघरमा प्रशस्त मात्रामा पाइने मकैका खोस्टा र थाकल प्रयोग गर्न नजान्दा खेर गइरहेका हुन्छन्। तर, राप्ती सोनारी–६ का महिलाले यी खेर गएका वस्तुलाई सङ्कलन गरी आकर्षक सामग्री तयार पारेका छन्।
राप्ती सोनारी–६ को सहयोग र सहयोगी मन बाँकेको आयोजनामा १० दिनसम्म चलेको तालिममा महिलाले प्राकृतिक रेसाजन्य वनस्पतिको प्रयोग गरी हस्तकलाका विभिन्न सामग्री उत्पादनसम्बन्धी ज्ञान र सीप हासिल गरेका छन्। अब उनीहरू टोपी, झोला लगायतका सामग्री उत्पादन गर्न सक्ने भएका छन्। सहयोगी मनकी उपाध्यक्ष पुर्णिमा थापाले सीप र ज्ञान नहुँदा गाउँमा पाइने वस्तुको उपयोग हुन नसकेको तर अब हातमा सीप भएपछि आवश्यक सामग्री आफैँ तयार पार्न सकिने बताइन्। उनले गाउँमा उत्पादित सामग्रीको बजारीकरण सहयोगी मनले गर्ने जानकारी दिइन्।

सहभागी मैनामोति थारुले गाउँघरका जङ्गलमा थाकल र मकैका खोस्टा प्रशस्त हुने भएकाले सामग्री खरिदमा खर्च गर्न नपर्ने र सीप भएपछि घर सजावटका लागि विभिन्न आकर्षक सामग्री आफैँले बनाउन सकिने बताइन्।
सहयोगी मनकी अध्यक्ष इन्दिरा शाहीले कच्चा सामग्री खरिदमा रकम खर्च गर्न नपर्ने र गाउँघरमा भने जति सामग्री पाइने भएकाले यो सीप महिलाका लागि अति उपयोगी रहेको बताइन्। सहयोगी मनले १५ जना महिलालाई यो सीप प्रदान गरेको छ र सीप सिकेपछि महिलाहरू व्यावसायिक उत्पादनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

राप्ती सोनारी–६ का वडा अध्यक्ष लबराज खरेलले उत्पादित हस्तकला सामग्री वडाले खरिद गरिदिने र उत्पादनका आधारमा अनुदान दिन पहल गर्ने बताए। उनले आयआर्जनमूलक क्षेत्रमा प्रोत्साहन गर्न विभिन्न सीपमूलक तालिम दिइरहेको र महिलाहरू आत्मनिर्भरतर्फ अगाडि बढेको बताए। वडाले महिलालाई आर्थिक रूपमा सक्षम बनाउन मकैका खोस्टा र थाकलबाट फूल बनाउने तालिमका साथै मेहंदी लगाउने तालिम पनि प्रदान गरेको छ। १० दिनसम्म सञ्चालित तालिममा अन्जनी चौधरीले सहजीकरण गरेकी थिइन्।

प्रतिक्रिया राख्नुहोस्