तपाईँ सुन्दै हुनुहुन्छः

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

भैरहवा (रुपन्देही) । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलामा मारिएका नेपालीसहित भारतीय र तेस्रो मुलुकका नागरिकको सम्झनामा भैरहवामा शोकसभा र दीप प्रज्वलन गरिएको छ । 

भैरहवाको बुद्धचोकमा आज साँझ नेपाल–भारतमैत्री केन्द्र, रुपन्देही नागरिक समाज र नेपाल–भारत पूर्वसैनिक परिवार कल्याण सङ्गठनको संयुक्त आयोजनामा शोकसभा र दीप प्रज्वलन गरिएको हो । 

प्रतिनिधिसभा सदस्य एवं पूर्व पर्यटन मन्त्री प्रेमबहादुर आलेले घटनाको जति निन्दा गरेपनि कमै हुने बताउनुभयो । उहाँले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।

पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले जातीय, धार्मिक, सांस्कृतिक कुनै किसिमका आतंकवाद स्वीकार्य नहुने बताउनुभयो । 

मैत्री केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवाल, नागरिक समाजका अध्यक्ष अमित गुप्ता, भूपुसैनिकका अध्यक्ष रेशम केसीले आतङ्कवादी घटनाले आफूलाई दुःखी तुल्याएको जनाउनुभयो । 

शोकसभा तथा दीप प्रज्वलनमा विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी व्यवसायी, स्थानीयलगायत सहभागी थिए । शोक सभापछि दीप प्रज्वलन गरेर मृतकहरूको सम्झना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button