तपाईँ सुन्दै हुनुहुन्छः

‘अस्पतालमा उपचारका लागि आउने बिरामीलाई असहज हुने वातावरण नबनाउन आग्रह’

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आन्दोलनरत नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका नाममा उपचार खोजिरहेका आम नागरिकलाई अस्पताल प्रवेश गर्ने सेवाको ढोका बन्द नगर्न आग्रह गर्नुभएको छ ।

आज शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको १३औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री पौडेलले आफ्नो माग पुरा गर्न सरकालाई दबाब दिने नाममा बाध्यता, दुःख र पिडाले अस्पतालमा उपचारका लागि आउने बिरामीलाई असहज हुने वातावरण नबनाउन सङ्घलाई आग्रह गर्नुभयो ।

संघका माग स्वभाविक भएको भन्नुहुँदै उहाँले माग पुरा गर्ने माध्यम बन्द, हड्ताल नहुने बताउनुभयो ।

मन्त्री पौडेलले आन्दोलन फिर्ता लिएर मुलुकको उपचारात्मक प्रणालीमा सहयोग गर्न समेत चिकित्सकहरूलाई आग्रह गर्नुभयो ।

सेवाको ढोका बन्द गरेर होइन बिरामीको सेवा गरेर आफ्ना विषय राख्न आग्रह गर्दै स्वास्थ्य मन्त्री पौडेलले बिरामीलाई निराश बनाई फर्काउन नहुने बताउनुभयो ।

संघका स्वभाविक मागलाई सरकारले जसरी पनि लागु गर्छ भन्दै संघका मागका पक्षमा स्वास्थ्य मन्त्रालय रहेकोले अगाडी सारेका कार्यक्रम फिर्ता लिएर सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले आवासीय चिकित्सकको निर्वाह भत्ता मासिक ४८ हजार ७ सय रुपैयाँबाट नघट्ने प्रष्ट पार्दै सरकारले जसरी पनि लागु गर्ने बताउनुभयो ।

मन्त्री पौडेलले वैदेशिक रोजगारीमा गएर फर्केका श्रमिकको स्वास्थ्यलाई मध्यनजर गर्दै केन्द्रमा सुरु भएको निःशुल्क क्लिनिकको उद्घाटन गर्नुभयो ।

मन्त्री पौडेलले केन्द्रलाई स्थानान्तरण गर्न भक्तपुरमा जग्गा उपलब्ध नभए अरू धेरै तिरबाट प्रस्ताव आएकाले त्यतैतिर सार्नुपर्ने अवस्था आउने बताउनुभयो ।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक तथा मृगौला प्रत्यारोपणविद् डा.पुकारचन्द्र श्रेष्ठले ठाउँ र जनशक्तिको अभावबीच पनि केन्द्रले हालसम्म १ हजार ४ सय १ जनाको मिर्गौला र ३३ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक गरेको बाउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सांसद सुरेश श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले केन्द्रलाई आवश्यक सहयोग गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button