तपाईँ सुन्दै हुनुहुन्छः

विषादी भेटिएपछि काउली नष्ट गरियो

सुर्खेत । कर्णालीकै ठूलो तरकारी बजार सुर्खेतस्थित बुलबुले कृषि थोक बजारमा भित्रिएको काउलीमा खान नहुने विषादी भेटिएको छ । 

सल्यानदेखि आज बिहान सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले कृषि थोक बजारमा भित्रिएको काउलीको नमुना परीक्षण गर्दा खान नहुने विषादी भेटिएको हो । 

केन्द्रिय कृषि प्रयोगशाला अन्तर्गत वीरेन्द्रनगर स्थित बुलबुले कृषि थोक बजारमा रहेको द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट परीक्षणपछि आएको रिपोर्टका आधारमा आठ सय ७० केजी काउली नष्ट गरिएको वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख तथा द्रुत विषादी विश्लेषण प्रयोगशाला सञ्चालक समितिका अध्यक्ष नीलकण्ठ खनालले जानकारी दिनुभयो । उहाँले प्रयोगशालाका रिपोर्ट अनुसार सल्यानबाट आएको काउलीको नमुना परीक्षण गर्दा विषादी रोकावट दरको ९१ प्रतिशत भेटिएको बताउनुभयो । 

प्रयोगशालाले उक्त तरकारी उपभोग गर्दा स्वास्थ्यमा गम्भीर असर गर्ने विषादीको मात्रा पाइएको भन्दै तुरुन्त नष्ट गर्न बुलबुले कृषि थोक बजारमा रहेको समितिलाई आग्रह गरिएको जनाइएको छ ।  

चालू आर्थिक वर्ष २०८१/८२ को कार्तिक १५ देखि वैशाख ८ गतेसम्म बुलबुले कृषि थोक बजारको द्रुत विषादी विश्लेषण एकाइमा १ हजार २ सय २५ वटा नमुना परीक्षण गरिएकोमा १५ वटामा विषादी रोकावटको दर ४६ प्रतिशतभन्दा माथि पाइएको छ । यस्तै उक्त तरकारीको नमुना परीक्षण गरेको मध्य २९ प्रतिशतमा विषादीको रोकावट दर ३५ देखि ४५ प्रतिशत पाइएको छ । 

जुन केही पर्खेर वा पुनः परीक्षण गरेर मात्रै उपभोग सकिने केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको द्रुत विषादी विश्लेषण एकाइ सुर्खेतका प्राविधिक धनसिंह थामीले बताउनुभयो । भारत भन्दा नेपालमै उत्पादन भएका तरकारी तथा फलफूलमा विषादी मात्रा मिसाइएको पाइएको उहाँको भनाइ छ । 

बुलबुले कृषि थोक बजारमा दैनिक करिब ५० टन भन्दा बढी हरियो तरकारी भित्रिने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button