तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बीमा प्राधिकरण र चीनको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेसनबीच स्वास्थ्य बीमासम्बन्धी छलफल

काठमाडौँ । नेपाल बीमा प्राधिकरण र चीनको सिचुवान प्रान्त अन्तर्गतको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेशनबीच सिचुवान प्रान्तको छेङ्दुमा आज स्वास्थ्य बीमा सम्बन्धी उच्चस्तरीय छलफल सम्पन्न भएको छ ।

नेपालबाट नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेतृत्व गर्नुभएको टोली र चीनबाट सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेशनका उपमहानिर्देशक झाङ हेफेङ नेतृत्वको टोलीबिच स्वास्थ्य बीमा, स्वास्थ्य बीमा प्रणाली, स्वास्थ्य बीमा सम्बन्धी नीति तथा संरचना र स्वास्थ्य सुरक्षण लगायतका विषयमा छलफल भएको हो ।

कार्यक्रममा स्वास्थ्य बीमाको दिगोपन सुनिश्चित गर्ने उपाय, भुक्तानी प्रणालीमा सुधार, बिमाले प्रदान गर्ने रक्षावरण, निजी क्षेत्रद्वारा सञ्चालित स्वास्थ्य बीमा योजना, नागरिकहरूलाई सहज र सुलभ सेवा प्रदान गर्ने विधि, स्वास्थ्य सुरक्षामा सार्वजनिक र निजी क्षेत्रको सहकार्य, सेवा प्राप्तिमा पारदर्शिता, बिमाप्रतिको विश्वास अभिवृद्धि र डिजिटल प्रविधिको प्रयोग मार्फत स्वास्थ्य बीमाको प्रभावकारिता अभिवृद्धि लगायतका विषयमा विस्तृत छलफल भएको थियो ।

कार्यक्रममा चीनको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेशनका उपमहानिर्देशक झाङ हेफेङले सिचुवान प्रान्तमा स्वास्थ्य सुरक्षालाई तीन भागमा वर्गीकरण गरी पहिलो चरणमा बेसिक हेल्थ केयर सुविधा, दोस्रोमा थप प्रिमियम तिर्दा घातक रोगको उपचार सुविधा र तेस्रो चरणमा मेडिकल एसिस्टेन्सको व्यवस्था रहेको जानकारी दिनुभयो ।

उपमहानिर्देशक झाङले संस्थाको आर्थिक अवस्था अनुसार नागरिकलाई दिइने सुविधा थप गर्ने गरिएको उल्लेख गर्नुहुँदै सरकारी स्वास्थ्य सुरक्षा योजनाले जोखिम नव्यहोर्ने रोगको उपचारका लागि नागरिकले स्वास्थ्य बीमा खरिद गर्ने गरेको र सरकारी स्वास्थ्य सुरक्षा तथा आधारभूत सेवा अन्तर्गत नियमित प्रयोग हुने औषधि तथा आधारभूत मेडिकल सेवा प्रदान गर्ने गरिएको बताउनुभयो ।

साथै, उहाँले गलत तथा फर्जी दाबी रोक्न आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउँदै गलत दाबी गर्ने स्वास्थ्य संस्थालाई उच्च जरिवानाका साथै कडा कारबाहीको व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

उपमहानिर्देशक झाङले सरकारी स्वास्थ्य सुरक्षा अन्तर्गत संस्थाको वित्तीय अवस्था तथा सरकारले गर्ने आर्थिक सहायताका आधारमा सेवा थप गर्ने गरिएको र निजी क्षेत्रका बीमा कम्पनीले बिक्री गर्ने बिमामा धेरै सुविधाहरू रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सरकारी स्वास्थ्य सुरक्षा योजना र निजी क्षेत्रका स्वास्थ्य बिमाबिच रहेका फरक र सरकारी स्वास्थ्य सुरक्षा प्रणालीको दिगोपनका सम्बन्धमा जिज्ञासा राख्नुभएको थियो ।

अध्यक्ष ओझाले नेपालमा स्वास्थ्य बीमा सम्बन्धी नीति तर्जुमा गर्दा सिचुवान प्रान्तको अनुभवलाई प्राधिकरणले आत्मसाथ गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपालबाट नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा छेङ्दुस्थित नेपालका महावाणिज्यदूत सुरेश राउत सहभागी हुनुन्थ्यो ।

यसैगरी, चीनबाट चीनको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेशनका उपमहानिर्देशक झाङ हेफेङ, प्लानिङ, फाइनान्स एण्ड रेगुलेशन डिभिजन प्रमुख ली याजुन, बेनेफिट एण्ड सेक्युरिटी डिभिजन प्रमुख ली रुई, मेडिकल एण्ड फर्मास्युटिकल सर्भिसेस् म्यानेजमेन्ट डिभिजन प्रमुख वाङ यिगो, अपरेशनल गाइडेन्स डिभिजन प्रमुख लियो जेङ्कुई र मेडिकल एण्ड फर्मास्युटिकल प्राइसेस एण्ड विडिङ प्रोक्युरमेन्ट डिभिजनका उपप्रमुख जियोङ वेङविङको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button