तपाईँ सुन्दै हुनुहुन्छः

कुरूप बन्दै चौदण्डीगढीको भ्यु टावर 

उदयपुर । उदयपुरको चौदण्डीगढीमा निर्मित भ्यु टावर यतिबेला संरक्षण र सम्वद्र्धनको पर्खाइमा जीर्ण बन्दै गएको छ ।

राज्यले लाखौँ रकम खर्च गरेर चौदण्डीगढी नगरपालिकाको ऐतिहासिक गढी “चौदण्डीगढी“ डाँडामा निर्माण गरेको भ्यु टावरको औचित्य पुष्टि नहुँदा चौदण्डी गढीको भ्यु टावर कुरूप बन्दै गएको हो ।

विक्रम संवत् १७९० देखि जगत सेन, विक्रम सेन, हरि सेन लगायतका चार पुस्ताले चौदण्डीगढी दरबारमा रहेर राज्य गरेको इतिहास छ । सोही चौदण्डीगढी दरबारबाट १ किलोमिटर पश्चिममा पर्ने बतासे डाँडामा भ्यु–टावर निर्माण सम्पन्न गरिएको झन्डै ४ बर्ष बितिसकेको छ ।

राज्यले ५५ लाख ८८ हजार सरकारी अनुदान र १३ लाख ९७ हजार बराबरको जनश्रमदानसहित ६९ लाख ८५ हजार रुपैयाँको लागतमा ४४ फिट उचाई र १८ मिटर चौडा भ्यु टावर निर्माण गरेको थियो । टावरबाट एकैपटकमा ४० जनासम्मले तराईका थुप्रै जिल्ला, भारतको विहार उत्तर प्रदेश र पश्चिम बङ्गालका विभिन्न स्थानसहित उत्तरतर्फ कञ्चनजङ्घा, मकालु, सगरमाथा सहित थुप्रै हिमशृङखलाको दृश्यावलोकन गर्न सक्ने भनिएको छ ।

यद्यपि उक्त क्षेत्रको प्रचार प्रसार, संरक्षण र सम्बद्र्धन नहुँदा चौदण्डीगढी पर्यटकीय केन्द्रमा  परिणत हुन त कता हो कता राज्यले लाखौँ खर्चेर निर्माण गरेको भ्यु टावर समेत कुरूप बन्दै गएको छ ।

भ्यु टावरमा चौदण्डीगढी नगरपालिका १ वडा कार्यालयले सरसफाई गर्न कर्मचारी राखेको भएपनि अहिले  भ्यु टावरमा लेउ लागेर कुरूप मात्रै बन्दै गएको छैन भ्यु टावरमा झार पलाएर संरक्षणको पर्खाई कुरेर बसेको छ ।

ऐतिहासिक चौदण्डीगढी दरबार र राज्यले लाखौँ खर्चेर निर्माण गरेको भ्यु टावर पछिल्लो समय राज्यको तर्फबाट प्रचार प्रसार, संरक्षण र सम्वद्र्धनका साथै पर्यटकको आवागमनलाई कुरेर बसिरहेको बेला कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्षको रुपमा गरेको घोषणाको प्रभाव पर्ला वा नपर्ला समयले बताउने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button