तपाईँ सुन्दै हुनुहुन्छः

आठ संघीय अस्पतालमा थप सेवा विस्तार हुने

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर विभिन्न आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

मन्त्री पौडेलको संघीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीतिअन्तर्गत संघीय अस्पतालहरूमा सेवा थप्ने र विस्तार गर्ने कार्यक्रम वैशाख महिनामा थपिने र विस्तार गरिने सेवा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार वैशाख महिनामा वीर अस्पतालले सर्जिकल आइसीयुको सेवा विस्तार गर्नेछ । वीरको आइसियुमा नौ शय्या थप गर्ने कार्यक्रम वैशाख दोस्रो साता राखिएको छ ।

यसैगरी, भरतपुर अस्पतालले क्याथ ल्याब सेवा शुरु गर्दैछ । यसैगरी, जलन वार्ड, सिमुल्टेशन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट युनिटसँगै भरतपुर अस्पतालले क्याडाभर ल्याब सेवा वैशाख अन्तिमसम्म थप गरिसक्ने विवरण मन्त्रालयमा पठाएको छ ।

भक्तपुर क्यान्सर अस्पतालले पिआइसीयु तथा पेडियाट्रिक वार्ड वैशाख दोस्रो साता आरम्भ गर्दैछ । भेरी अस्पतालले मृगौला प्रत्यारोपण सेवा वैशाख दोस्रो साताबाट आरम्भ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शय्या वैशाख अन्त्यसम्ममा थप गर्नेछ । यसैगरी नारायणी अस्पताल वीरगञ्जले वैशाख अन्त्यसम्ममा क्याथ ल्याब आरम्भ गर्नेछ भने जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र तनहुँले हेमोडायलासिस सेवा वैशाख तेस्रो साता औपचारिक सञ्चालनमा ल्याउनेछ ।

धनगढीको गेटा अस्पतालले भने वैशाख तेस्रो साताभित्र मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्ट एकै साथ थाल्नेछ ।

मन्त्री पौडेलले स्वास्थ्य सचिव डा। विकास देवकोटालाई सबै संघीय अस्पतालहरूलाई थप तथा विस्तार गर्ने व्यवस्था मिलाउन भन्नुभएको थियो । जसअनुसार गत चैत्रमा १२ संघीय अस्पतालले केही सेवा थप तथा विस्तार गरेका थिए भने वैशाखमा समेत यसलाई निरन्तरता दिइएको छ । मन्त्रालयका प्रवक्ता डा। बुढाथोकीले चालु आर्थिक वर्षभित्रै थप संघीय अस्पतालमा सेवा विस्तारका कार्यक्रम कार्यान्वयन क्रममा रहेको जानकारी दिनुभयो । ‘केहीमा सेवा थपिएका छन्, केहीमा थपिने क्रममा छन्,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य सेवा सुधार र विस्तार गर्ने मन्त्रीज्यूको नीतिअनुसार काम भइरहेको छ ।’ 

प्रतिक्रिया राख्नुहोस्

Back to top button