तपाईँ सुन्दै हुनुहुन्छः

मेटालाई सूचीकृत गराएरै छाड्छौँ : मन्त्री गुरुङ 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाललाई समाजप्रति उत्तरदायी बनाउन मन्त्रालयले मेटालाई सम्पर्क केन्द्र तोक्न जोड दिइरहेको बताउनुभएको छ । 

सञ्चारीका समूहको ९ औँ महाधिवेशनमा मन्त्री गुरुङ देशको स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधीनता र सम्प्रदायको हितका लागि सामाजिक सञ्जालको नियमन अति आवश्यक रहेको बताउँदै यसका लागि हालसम्म मन्त्रालयमा भाइबर, टिकटक, वि च्याट लगायत केही सामाजिक सञ्जाल सूचिकृत भइसकेको जानकारी दिनुभयो । तर, मेटासँग मन्त्रालयले सरकारको सम्पर्कमा आउनुपर्ने विषयमा बारम्बार दबाब दिइरहँदा पनि अटेरी गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । 

मन्त्री गुरुङले भन्नुभयो, “मेटाले सरकारलाई समेत टेर्दैन, यति भन्दैमा हामीले उम्किन भने दिँदैनौँ । जसरी पनि नेपाल सरकारप्रति जबाफदेही बनाउँछौँ र सम्पर्क केन्द्र सूचिकृत गराउँछौँ ।”

मन्त्री गुरुङले राष्ट्रिय सभाबाट पास भएको मिडिया काउन्सिल विधेयक हाल प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य समितिमा छलफलको क्रममा रहेको बताउनुभयो । आम सञ्चार प्राधिकरण बनाउने विषय भने अर्थ मन्त्रालयमा सहमतिका लागि छलफल भइरहेको मन्त्री गुरुङले जानकारी दिनुभयो । 

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले राजावादीबाट भएको हिंसात्मक आन्दोलनको भर्त्सना गर्दै आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति सरकारले क्षतिपूर्तिको व्यवस्था गरेको बताउनुभयो । सरकारले छानविन समिति बनाई दोषीमाथि कारबाही गरिरहेको उहाँले बताउनुभयो । यस्ता अलोकतान्त्रिक र असंवैधानिक हुन नदिन सरकार संवेदनशील रहेको समेत उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button