तपाईँ सुन्दै हुनुहुन्छः

ढल्केवर ग्रिडमा आगलागी हुँदा धनुषा तथा महोत्तरीको विद्युत् प्रवाहमा समस्या 

oplus_2

जनकपुरधाम । धनुषा जिल्लाको नेपालकै ठूलो ढल्केबर ग्रिडको ट्रान्सफरमरमा हिजो बिहान आगलागी हुँदा धनुषा र महोत्तरी जिल्लाको ग्रामीण क्षेत्रका विद्युत् आपूर्ति बन्द रहेकोमा आज मर्मतपछि सुचारु भएपनि विद्युत् प्रवाहमा समस्या रहेको छ । 

नेपाल विद्युत् प्राधिकरण ढल्केवर ग्रिड महाशाखाका कार्यालय प्रमुख विनोद लोहनीका अनुसार ढल्केबर ग्रिडको सिन्धुलीतर्फ जाने प्रसारण लाइनको सिटी पड्किएर आगलागी हुँदा सुरुमा देशका थुप्रै जिल्लाको विद्युत् सेवा अवरुद्ध भएपनि अरू सबै तीरको विद्युत् हिजै दिउँसोबाट सुचारु गरेकोमा धनुषा तथा महोत्तरीका सदरमुकाम बाहेकका क्षेत्रमा आज दिउँसोबाट मात्र विद्युत् सुचारु भएको छ । 

आज दिउँसो २ बजेपछि विद्युतका कर्मचारीहरूले मर्मत गरेपछि सुचारु भएको लोहनीले जानकारी दिएपनि फेरि बर्दिबास सहितका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको स्थानीयवासीले जानकारी दिनु भएको छ । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासका कार्यालय प्रमुख रामपुकार रामका अनुसार हिजो बिहान देखि अवरुद्ध भएको विद्युत् आज दिउँसो २ बजे सुचारु भएपनि विद्युत् अप डाउन भई नै रहेको जानकारी दिनु भएको हो ।  

विद्युत् सेवामा अनियमितता हुँदा पुनः बिग्रेका जेनरेटर तथा ईनभर्टरको मर्मत गर्ने क्रम बढ्नुका साथै नयाँ खरिद गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । यसका साथै विद्युतको भोल्टेज राम्रो नरहेकाले उपकरण सञ्चालनमा समस्या रहेको सेवाग्राहीहरूले जनाएका छन् । दुई दिन देखि जनकपुरधामको विद्युत् पनि अपडाउन हुने क्रम जारी रहेको छ । 

आगलागीबाट ढल्केवर ग्रिडका ट्रान्सफरमर, सिटी केवल र ब्रेकर जलेको नेपाल विद्युत् प्राधिकरण ढल्केवरका प्रमुख लोहनीले जानकारी दिनु भएको  छ । मरम्मतको लागि धनुषा तथा महोत्तरी जिल्लाका विभिन्न शाखाका इन्जिनियर सहितका प्राविधिकहरू ढल्केवर पुगेका थिए । धनुषाको ढल्केवर ग्रिडमा धेरै सङ्ख्यामा विद्युत् उपकरणहरू जडान रहेका कारणले उच्च जोखिममा रहेका छन् ।  

ढल्केवरवाट नै नेपाल–भारतको विद्युत् आदान प्रदान हुने गरेको छ । नेपालको ढल्केवरवाट भारतको मुजफ्फरपुरसम्म प्रसारण लाइन भएकाले नेपालबाट भारत तर्फ र भारतबाट नेपाल तर्फ सोही विद्युत् स्टेसनबाट विद्युत् आदान प्रदान हुने गरेको छ । 

चर्को गर्मीमा हिजो बिहान देखि आजसम्म विद्युत् सेवामा अनियमितता भएपछि मधेश प्रदेशका राजधानी जनकपुरधाम सहित धनुषा तथा महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका जनताहरू निक्कै प्रभावित हुन थालेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button