तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलाञ्चल सहित तराई मधेशमा जूडशितल एवं शिरुवा पर्व सम्पन्न 

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा आज जूडशितल पर्व मनाइदैछ । यस दिन घरका ठूला व्यक्तिले आफू भन्दा साना उमेरका सदस्यहरूलाई बासी पानी आजुरमा राखेर टाउकोमा राखी आशिष दिने काम गरिरहेका छन् । यसका साथै ठूला वडाले इष्टमित्र तथा छिमेकीहरूका साना व्यक्तिलाई टाउकोमा पानी राखेर आशीर्वाद दिने गरेका छन् । 

बिहान देखि शुरु भएको यो क्रम आज दिनभरि नै चल्नेछ । यसका साथै नयाँ वर्षमा नै भण्डारण गरेर राखेको बासी जल घर वरपर भएका वोर्ट बिरुवा सहित सार्वजनिक बाटोमा सिञ्चन गर्ने चलन रहेको छ । जूडशितलले प्रकृति र मानवका बीचमा रहेको गहिरो सम्बन्धलाई दर्शाउने काम गर्दछन् । यसमा मानवलाई मात्र होइन प्रकृतिलाई शीतलता दिने काम गरिन्छ ।  

यसका साथै आजको दिनमा ग्रामीण क्षेत्रमा एक अर्काको शरीरमा माटो दलेर पर्व मनाउने चलन रहेको छ । मानव शरीरका लागि शुद्ध माटो गुणकारी हुने भएकाले यसको प्रयोगलाई पनि वैज्ञानिक नै मान्ने चलन आयुर्वेदमा रहेको छ ।  

यसका साथै नयाँ वर्षमा तयार पारेको भात, तरकारी, तरुवा, वडी, कडही सहितका परिकारहरू घरका देउता तथा घरका सबै ढोकाको चौकठमा  अर्पण गरेर आफू सहितका घरका अन्य सदस्यहरु खुवाउने चलन रहेको छ  । जूडशितलका दिन मिथिलामा मुरिंगाको तरकारी अनिवार्य रुपमा खाने प्रचलन रहेको छ । केही वर्ष यता थालपानी (माटो पानी) खेल्ने क्रममा कमी आएकाले केही संस्थाले यसलाई संरक्षण गरेर राखेको पाइन्छ । जनकपुरधामको सेभ हिस्टोरिकल जनकपुरले आज जूडशितलको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । 

सो संस्थाका अध्यक्ष एवं मधेश प्रदेश सभाका सदस्य रामअशिष यादवको अगुवाईमा गंगासागरमा एक अर्कालाई हिलो लगाई दिएर प्रतिकात्मक रुपमा पर्व मनाएको छ । मिथिलामा भनिने जूडशितल पर्वलाई थारु समुदायले शिरुवा पर्व भन्ने चलन रहेको छ । 

जूडशितल पर्व मैथिली भाषिका साथै भोजपुरी तथा अवधि भाषीहरूले पनि मनाउने गरेको वरिष्ठ संस्कृति विद् डा. राजेन्द्र मिलले जानकारी दिनु भएको छ । मिथिलाको प्रायः पर्व एवं संस्कृतिहरू प्रकतिसंग जोडिएको उहाँले बताउनु भयो । 

वैशाख महिनामा सूर्यको ताप बढ्ने सर्वसाधारणले गर्मीको अनुभूति गर्ने भएकाले त्यसबाट जोगिनका लागि परापूर्व काल देखि नै जूड शितल पर्व र यसका विधि विधान, खानपानहरू निर्धारण गर्ने काम भएको छ ।  शिरुवा पर्वको अवसरमा मधेश प्रदेश सरकारले वैशाख २ गते सोमवार सार्वजनिक बिदा पनि दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button