भैरहवा भन्सारबाट आठ महिनामा १४ खर्ब ४७ करोडको सामान आयात
भैरहवा भन्सारबाट आठ महिनामा १४ खर्ब ४७ करोडको सामान आयात 'गत बर्ष भन्दा १५ प्रतिशत बढी राजस्व सङ्कलन'
रुपन्देही । भैरहवा भन्सार कार्यालयमा चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनामा भैरहवा नाका हुँदै १४ खर्ब ४७ करोड ९९ लाख रुपैयाँ बराबर मूल्यका सामान आयात भएको छ ।

आयातबाट भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीले लक्ष्यको ५५ दशमलब २६ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीका अनुसार भैरहवा भन्सार कार्यालयलाई भन्सार विभागले वार्षिक राजस्व सङ्कलनको लागि १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार रुपैयाँ लक्ष्य तोकेको थियो । फागुन मसान्तसम्म ६० अर्ब ४१ करोड २७ लाख ८३ हजार रुपैयाँ सङ्कलन भएको छ रेग्मीले जानकारी दिनुभयो ।
फागुनसम्मको असुली अघिल्लो आर्थिक वर्ष २०८०.८१ को तुलनामा १५ दशमलव ४४ प्रतिशतले बढी हो र अहिले मासिक औसतमा ८५ दशमलव ७० प्रतिशतका दरले राजस्व सङ्कलन भइरहेको छ, रेग्मीले भन्नुभयो–‘अबका बाँकी महिनामा बाँकी लक्ष्य पूरा गर्ने प्रयासमा भन्सार प्रशासन लागेको छ ।’
भैरहवा भन्सार कार्यालयको लक्ष्य ८ महिनाको ७० अर्ब ४९ करोड ६१ लाख ४० हजार थियो । हालसम्म ६० अर्ब ४१ करोड २७ लाख ८३ हजार रुपैयाँ सङ्कलन भएको छ । विगतका वर्षहरूको तुलनामा राजस्व सङ्कलनमा धेरै सुधार भएको छ, ’रेग्मीले भन्नुभयो–‘समग्र देशका भन्सार राजस्व सङ्कलनमा भैरहवा भन्सार कार्यालयको योगदान अहिले सबैभन्दा अगाडि छ ।’
फागुन महिनामा सार्वजनिक बिदाहरू पनि अलि धेरै भएको र त्यसले गर्दा केही कम राजस्व सङ्कलन हुन पुगेको उनले बताए । ‘नत्र यो आँकडा अझै बढ्ने थियो, ’उनले भने–‘अब बाँकी ४ महिनामा लक्ष्य पूरा हुने गरी राजस्व सङ्कलन हुने विश्वास छ ।’
कार्यालयले साउन महिनामा ७ अर्ब ३२ करोड ८१ लाख ८३ हजार (८३.५४ प्रतिशत), भदौमा ८ अर्ब ९२ करोड ७१ लाख ९१ हजार (९०.०४ प्रतिशत), असोजमा ८ अर्ब ८१ करोड ५१ लाख २५ हजार (१००.३८ प्रतिशत), कार्तिकमा ७ अर्ब १२ करोड ९७ लाख ८३ हजार (८३प्रतिशत), मंसिरमा ६ अर्ब ९६ करोड ४३ लाख ४४ हजार (८२.१६ प्रतिशत), पुसमा ६ अर्ब ८६ करोड ६१ लाख ३४ हजार (८०.६३ प्रतिशत), माघमा ७ अर्ब १४ करोड ७६ लाख ७ हजार (८५.८१ प्रतिशत) र फागुनमा ७ अर्ब २३ करोड ४४ लाख १६ हजार रुपैयाँ (७९.२१ प्रतिशत) सङ्कलन गरेको छ ।
भैरहवा नाका हुँदै आयात हुने सामानमा यो ८ महिनामा सबैभन्दा बढी राजस्व दुईपांग्रे सवारी (मोटरसाइकल) बाट प्राप्त भएको छ । मोटरसाइकलले कुल १० अर्ब ९३ करोड ९७ लाख ५९ हजार रुपैयाँ राजस्व बुझाएको छ ।
त्यसै गरी दोस्रो स्थानमा बढी राजस्व बुझाउनेमा इन्धनबाट चल्ने जीप, कार भ्यानहरू छन् । यी सवारी आयात हुँदा ६ अर्ब ३९ करोड ५८ लाख ४३ हजार रुपैयाँ राजस्व उठेको छ । त्यसै गरी तेस्रो स्थानमा पेट्रोल रहेको छ । पेट्रोल आयात हुँदा २ अर्ब ५१ करोड ९ लाख ३७ हजार रुपैयाँ राजस्व उठेको छ । त्यसपछि क्रमशः बढी राजस्व बुझाउने आयातित समानहरूमा चौथो स्थानमा विद्युतीय जीप, कार र भ्यानहरू, पाँचौँमा शुद्ध फलाम -स्पन्ज र फ्रेस आइरन, छैटौँमा डबल क्याब पिकअप गाडी, सातौँमा मोबाइल टेलिफोन, आठौँमा चकलेट, नवौँमा एम.एस.विलेट र दसौँमा टाइल रहेका छन् ।
यी मुख्य १० वस्तु आयात हुँदा ८ महिनामा २८ अर्ब ४४ करोड १० लाख २६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । ८ महिनामा यो नाकाबाट कुल १४ खर्ब ४७ करोड ९९ लाख रुपैयाँ बराबर मूल्यका सामान आयात भएको छ ।
प्रतिक्रिया राख्नुहोस्