तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयताको आठ वर्षमा धेरै कामहरू भएको छ : मुख्यमन्त्री सिंह 

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयतामाथि भइरहेको षड्यन्त्र तथा प्रहारका विरुद्ध सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभएको छ । 

मधेश प्रदेशसभा सचिवालयको आयोजनामा सातै प्रदेशका उपसभामुखहरूको तीन दिने सम्मेलन तथा अनुभव आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री सिंहले सङ्घीयता स्थापना भएको ७÷८ वर्षको अवधिमा धेरै कामहरू भएको उल्लेख गर्नुहुँदै अहिले गाउँ गाउँमा विकास निर्माणको क्षेत्रमा गति आउनुका साथै शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रहरूमा पनि ठूलो परिवर्तन भएको बताउनुभयो । 

मुख्यमन्त्री सिंहले सातै प्रदेशका उप–सभामुखहरूको सम्मेलनबाट संविधानको कार्यान्वयन तथा सङ्घीयतालाई बलियो बनाउनका लागि ठोस् निर्णय लिने आशा व्यक्त गर्नुभयो । 

सङ्घीयताको लागि मधेश प्रदेशले अगुवाइ गरेर धेरैले शहादत दिएको भन्नुहुँदै सुशासन, विकास तथा समृद्धिका लागि पनि मधेश प्रदेशले अगुवाइ गर्न जरुरी रहेको बताउनुभयो । 

उहाँले सङ्घीयता बढी खर्चिलो भएको र जनताको कुनै काम नभएको छुट्टा प्रचार गर्नेलाई काम गरेर देखाउने बेला आएको भन्नुहुँदै सुशासन तथा विकासका लागि व्यवस्थापिकाले सधैँ खबरदारी गर्न जरुरी रहेको बताउनुभयो । 

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सङ्घीयताको कारणले अहिले गाउँ गाउँमा विकासको लहर आएको भन्नुहुँदै यस अवधिमा भएका विकास निर्माणसहितको विषयमा प्रभावकारी प्रचारप्रसार गर्न जरुरी रहेको बताउनुभयो । 

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले सङ्घीयताको आधार भूमिको रुपमा रहेको मधेश प्रदेशले पहिलो पटक उपसभामुखहरूको सम्मेलन गरेर निक्कै सराहनीय कार्य गरेको बताउनुभयो । 

संविधान तथा प्रशासन विद् काशीराज दहालले सबै प्रणालीको मूल लक्ष्य नै सुशासन, समृद्धि र विकास रहेकाले त्यसमा नै सबै पक्ष एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । 

मधेश प्रदेशका उपसभामुख बबिता राउत ईसरको अध्यक्षतामा भएको सो तीन दिने सम्मेलनमा कोशी प्रदेशका उपसभामुख सृजना दनुवार, बागमती प्रदेशका अप्सरा चापागाईँ, गण्डकी प्रदेशका विना कुमारी थापा, लुम्बिनी प्रदेशका मेनुका खाँड केसी, कर्णाली प्रदेशका यशोदा न्यौपाने र सुदूरपश्चिम प्रदेशका उपसभामुख कोईली देवी चौधरीलगायतको सहभागिता रहेको छ । 

‘संसदीय अध्यासमा उपसभामुखहरूको भूमिका तथा नीतिगत सुधारका आवश्यकता’, मूल नारासहित शुरु भएको उपसभामुखहरूको सम्मेलनबाट जनकपुर घोषणापत्र पनि जारी गर्ने कार्यक्रम रहेको मधेश प्रदेशका उपसभामुख बबिता राउत ईसरले जानकारी दिनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button