दाउन्नेको हिलोमा यात्रुको बिचल्ली, सडक दुरावस्थाले हवाई यात्रामा वृद्धि
नवलपरासी पश्चिम।दाउन्ने सडक खण्ड अहिले यात्रु र चालक दुवैको पीडाको केन्द्र बनेको छ। पानी नपरे धुलो, पानी परेपछि हिलो—यही दुर्दशाले दाउन्ने सडकको यात्रा झनै जोखिमपूर्ण बनाएको छ। पछिल्लो केही दिनदेखि परिरहेको वर्षाका कारण सडक हिलाम्मे बनेको छ, जसले सवारी साधन चिप्लिने र दुर्घटनाको सम्भावना बढाएको छ।
सडक विस्तारको क्रममा पहाड काट्ने, पर्खाल निर्माण गर्ने र कल्भर्ट जडानको काम भइरहेको छ। तर वर्षाका कारण निर्माण कार्यमा अवरोध आइरहेको छ भने सर्वसाधारण यात्रुहरू थप सास्ती भोग्न बाध्य छन्।

पहिलोपटक यो बाटो हुँदै यात्रा गर्नेहरूले “मुख्य राजमार्गको हालत यस्तो!” भन्दै आश्चर्य प्रकट गर्छन्। जाममा फसेका एक यात्रुले व्यङ्ग्य गर्दै भने, “यो बाटो यात्रा गर्दा त चामल, दाल, तरकारी र ग्यास चुलो समेत बोकेर हिँड्नुपर्ने रहेछ।” उनले सुझाव दिए, “सरकारले सम्पूर्ण खण्ड एकै पटक भत्काएर होइन, खण्ड–खण्डमा विभाजन गरी योजनाबद्ध रूपमा काम गर्नुपर्छ।”
सडकको खराब अवस्थाका कारण यात्रुहरू अब वैकल्पिक उपायको खोजीमा छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार, पछिल्लो समय हवाई यात्रुहरूको सङ्ख्या बढेको छ। “ठ्याक्कै तथ्याङ्क हेर्नुपर्छ, तर सडक अवस्थाले हवाई यात्रु बढेका छन्,” उहाँले बताउनुभयो ।
हाल राति ११ बजेदेखि बिहान ५ बजेसम्म यो खण्ड बन्द गरिँदै आएको छ। तर लगातारको वर्षा र हिलोका कारण निर्माण कार्यमा ढिलाइ भइरहेको छ। ठूला मालवाहक सवारीहरू दाउन्नेको उकालो चढ्न नसक्ने अवस्था छ।
प्रधानमन्त्री केपी शर्मा ओली र संघीय भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले यस सडक खण्डको स्थलगत अनुगमन गर्दै वर्षायाम सुरु हुनु अघि नै ग्राभेलिङ गर्न निर्देशन दिनुभएको थियो । तर अहिलेको अवस्थाले हेर्दा काम समयमा सम्पन्न नहुँदा झरीभर यो सडक पूर्ण रूपमा बन्द हुन सक्ने अनुमान गर्न गाह्रो छैन।
प्रतिक्रिया राख्नुहोस्