तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीको मालिका मन्दिर क्षेत्र पूर्वाधारले अब्बल बन्दै

गुल्मी । पछिल्लो समय प्रसिद्ध धार्मिकस्थल कुर्घा मालिका पूर्वाधारमा अब्बल बन्दै गएको छ ।

 गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले कुर्घा मालिका मन्दिरको संरक्षण र भौतिक संरचना बनाउन थालेपछि मन्दिर क्षेत्र अब्बल बन्दै गएको हो । 

मुसिकोट नगरपालिकाको वडा नम्बर-६ मा पर्ने मालिका मन्दिरमा केही बर्ष पहिलेसम्म कुर्घा मालिकाको ठुलो धार्मिक महत्व भएपनि सडक पहुँच राम्रो थिएन । जसले गर्दा दर्शनार्थीलाई आवत–जावतमा समस्या हुने गरेको थियो । पछिल्लो समय स्थानीय सरकारले मन्दिर सम्म पुग्ने सडक बनाएपछि यात्रा गर्न सहज भएको छ । मालिका परिसरमा पार्किङ राम्रो व्यवस्था नहुँदा समस्या थियो ।  अहिले पार्किङस्थल भएपछि सहज भएको छ । 

स्थानीय सरकार आएपछि कुर्घा मालिका संरक्षण र विकासको आशा जागेको छ । खरले छाएको मन्दिर पछि जस्ताले छाएर संरक्षण गरिएको थियो । स्थानीय सरकार गठनपछि करोडौँका काम भएको मुसिकोट नगरपालिका ६ का वडाध्यक्ष खडग बहादुर खड्काले बताउनुहुन्छ ।

पहाडको भित्र मालिका भगवती भएको धार्मिक विश्वाससहित अहिले पनि यहाँ आएर चिच्याएर वर माग्ने चलन रहेकाले टाढाबाट दर्शनार्थी आउने गरेका छन् । यहाँ मागेको बर पुरा हुने धार्मिक मान्यता रही आएको छ । 

मालिका मन्दिर परिसरमा घेरा वार, आरसिसी वाल र पार्किङ स्थलको निर्माण भएको छ । त्यस्तै सडक स्तर वृद्धिको काम गरेर यातायातको सहज आवागमनको व्यवस्था मिलाएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताउनुभयो ।

मुसिकोट नगरपालिका प्रमुख जीवन खरेल जीवनले निर्वाचित भएपछि हरेक क्षेत्रमा तीनै तहको समन्वय र बजेट लिएर कुर्घा मालिका मन्दिरमा संरचना थप गरिएको बताउनुभयो । कुर्घा मालिका मन्दिर मुसिकोट नगरपालिकाको पर्यटकीय तथा धार्मिकस्थल भएको हुँदा यसको विकासको लागि नगरपालिका सधैँ लागि परेको बताउनुभयो ।

मुसिकोट नगरपालिका र लुम्बिनी प्रदेश सरकारको साझेदारीमा ६६ लाखमा मन्दिर निर्माण गरिएको हो । त्यस्तै ११ करोडको डिपिआर गरेर मन्दिर, वाल, पार्किङ, वृक्षारोपण लगायतका काम भएको छ ।

मालिकाका बारेमा कतिपय पुराणहरूमा चर्चा गरिएको छ। स्थानीयका अनुसार मालिका मन्दिर द्वापर युगको अन्त्यतिर स्थापना भएको हो। मालिका भगवती प्रकट भएर माल्य श्री नामका ऋषिलाई बरदान दिएपछि मालिकाको उत्पत्ति भएको पाइन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button