नेपालगन्जमा ‘थारु हाउस’ सञ्चालनमा, एकै ठाउँमा थारु परिकार र हिमालय जाभाको कफी
बाँके।नेपालगन्जमा अब थारु समुदायका परम्परागत परिकार र हिमालय जाभाको प्रख्यात कफी एकै स्थानमा स्वाद लिन पाइने भएको छ।
नेपालगन्ज उपमहानगरपालिका–१० स्थित गोसाईगाउँमा झण्डै एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको ‘थारु हाउस’ को उद्घाटन बुधबार मेयर प्रशान्त विष्टले रिबन काटेर गर्नुभयो।
सञ्चालक रेश्मा चौधरीका अनुसार थारु हाउसमा अनदी चामलको बढिया, ढिक्री, घोंगी, खरवा, डोक्नीको चट्नी लगायत थारु समुदायका मौलिक परिकारहरू उपलब्ध छन्। साथै, हिमालय जाभाको कफी र अन्य खाजा तथा खाना समेत यहाँ पाइने चौधरीले जानकारी दिनुभयो।
उद्घाटन समारोहमा बोल्दै मेयर विष्टले थारु हाउस कफी पारखी र थारु परिकार मन पराउनेहरूका लागि उत्कृष्ट गन्तव्य हुने बताउनुभयो। उहाँले नेपालगन्जमा थारु संस्कृतिका स्वाद पस्किने यस्तो प्रतिष्ठान सञ्चालनमा आउनु खुशीको कुरा भएको भन्दै नगरपालिकाबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री तथा प्रतिनिधिसभा सांसद किशोरसिंह राठौर, लुम्बिनी प्रदेशका पूर्वसांसद मोहम्मद याकुब अन्सारी, कांग्रेस नेता सुदीपनरसिंह राणा, भेरी अस्पताल विकास समिति अध्यक्ष बीरेन्द्र शाह, जामा मस्जिद इदगाहका पूर्वअध्यक्ष हाजी अब्दुल रहमान मियाँलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।
प्रतिक्रिया राख्नुहोस्