तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा आजदेखि मुख्यमन्त्री कप भलिबल, कोशी र बागमती प्रदेशको भिडन्त 

भोजपुर । भोजपुर सदरमुकाममा आजदेखि पाँच प्रदेशको सहभागितामा मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदै छ । पहिलो खेल साढे दुई बजेबाट कोशी र बागमती प्रदेशका बीचमा हुने छ । 

जिल्ला भलिबल सङ्घको आयोजना तथा कोशी प्रदेश सरकारको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा मधेस र कर्णाली प्रदेशबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता यही चैत २८ गतेसम्म चल्ने छ । सबै खेल भोजपुर नगरपालिका–७ कोदारस्थित मैदानमा सञ्चालन हुने छन् । 

प्रतियोगिता सञ्चालन गर्न कोशी प्रदेश सरकारको कोशी प्रदेश खेलकुद विकास बोर्ड मार्फत रु २० लाख सहयोग हुने छ । अन्य रकम जिल्लाका विभिन्न पालिका र व्यक्ति तथा सङ्घसंस्थाबाट सङ्कलन गरिने आयोजक संस्थाका महासचिव संग्राम किरातीले बताउनुभयो । प्रतियोगितामा कोशी प्रदेश भलिबल सङ्घले प्राविधिक सहयोग गरेको छ । 

प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, दोस्रोले रु एक लाख ७५ हजार, तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिए । पाँच विधामा विधागत रुपमा उत्कृष्टलाई दश हजारका दरले रु ५० हजार पुरस्कार प्रदान गरिने छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button