बाजुराको गौमुलमा फलाम खानिको सम्भाव्यता अध्ययन
बाजुरा । बाजुराको गौमुल गाउँपालिकाका विभिन्न स्थानमा फलाम खानिको प्रारम्भिक अध्ययन गरिएको छ। नेपाल सरकारको खानी तथा भूगर्भ विभागको जियोलोजिष्टको टोलीले फलाम सम्भावित स्थानमा पुगेर प्रारम्भिक अध्ययन सम्पन्न गरेको हो।
गौमुल गाउँपालिकाले पालिकाका विभिन्न स्थानमा फलाम खानी रहेको तथ्यसहित सम्भाव्यता अध्ययनको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्राचार गरेको थियो।
‘सयौं वर्ष पहिले फलाम उत्खनन् गरिएका धाउ र सामाग्री निर्माणका लागि प्रयोग भएका प्रमाणहरूको आधारमा फलाम खानीको अध्ययन गरिएको हो,’ गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले भन्नुभयो।

नेपाल सरकारको खानी तथा भूगर्भ विभागका जियोलोजिष्ट नविन विक र राजेश शर्माको टोलीले सयौं वर्ष पहिले फलाम उत्खनन् गरिएका गुफाहरूमा पुगेर प्रारम्भिक अध्ययन गर्नुभएको गौमुल गाउँपालिकाले जानकारी दिएको छ।
परम्परागत समयका फलाम उत्खनन स्थलहरू, जस्तै गौमुलको माडि खोलामा रहेको बाम्णा धाउ गुफा, अम्लिसको नुवामाटा, भूटिपरी, रनेडा, आला, निलासैन आदि स्थानहरूमा फलाम खानीको प्रारम्भिक अध्ययन गरिएको जियोलोजिष्ट नविन विकले बताउनुभयो।
पहिलो चरणमा संकलित स्याम्पलहरूको परीक्षण गरिने र रिपोर्टको आधारमा आगामी चरणमा पुनः अध्ययन गरिने जियोलोजिष्ट विकको भनाइ छ।
एक हप्तासम्मको अध्ययनको क्रममा भेटिएका स्याम्पलहरू काठमाण्डौं लगिएको र यसको परीक्षण पछि फलामको अस्तित्व पुष्टि गरिने जियोलोजिष्ट राजेश शर्माले जानकारी दिनुभयो।
फलाम खानिको सम्भाव्यता अध्ययन गरिएपछि स्थानीय बासिन्दाहरू उत्साहित भएका छन्।








प्रतिक्रिया राख्नुहोस्