कोरोना नियन्त्रणका लागि १५ करोडको कोष
पर्वत -कोभिड–१९ (कोरोना भाइरस) रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले १५ करोड रुपैयाँको कोष स्थापना गरेको छ । प्रदेश मन्त्रीपरिषद्को हिजोको बैठकले यस्तो निर्णय गर्दै सहयोगका लागि सबै पक्षसँग आग्रह पनि गरेको छ ।
मन्त्रिपरिषदका प्रवक्ता भौतिक पूर्वाधार बिकासमन्त्री रामशरण बस्नेतका अनुसार उक्त कोषमा मुख्यमन्त्री र सातै मन्त्रीले एक महिनाको तलब दिने निर्णय पनि भएको छ ।
मन्त्रीपरिषद् बैठकले आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको संयोजकत्वमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार बिकासमन्त्री रामशरण बस्नेत, सामाजिक बिकासमन्त्री नरदेवी पुनमगर र प्रमुख सचिव हरिप्रसाद बस्याल सदस्य रहेको कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन समिति गठन गरेको छ । समितिले कोरोना रोकथामका लागि विभिन्न कार्य शुरु गरेको छ ।
गण्डकी प्रदेशका ११ वटै जिल्लाका सबै जिल्ला अस्पताललाई कोरोना रोकथामका लागिमात्रै भनेर यसअघि जनही ५ लाख पठाइएकोमा थप ५ लाखका दरले पठाउने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको छ । अस्पतालमा डाक्टरहरुले प्रयोग गर्ने पिपिई अभाव भएकाले संघीय सरकार संग माग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो ।
प्रदेश सरकार संग अहिले भएका ६५ वटा पिपिई अस्पतालहरुमा पठाइएपनि माग बढिरहेको मन्त्री बस्नेतले बताउनुभयो । सरकारले खोजी गरिरहे पनि पिपिई पाउन कठिन भएपछि संघीय सरकार संग माग गरिएको बस्नेतले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्