तपाईँ सुन्दै हुनुहुन्छः

वन डढेलो नियन्त्रण गर्न बाँकेमा सचेतनामूलक अभियान सुरु

बाँके। बाँकेमा वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतनामूलक अभियान सुरु गरिएको छ। डिभिजन वन कार्यालय नेपालगञ्जको सहयोगमा सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ बाँकेले सामुदायिक वन क्षेत्रका उपभोक्तालाई सचेतना अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गरेको हो।

गर्मी मौसममा वन डढेलोको उच्च जोखिम रहेकाले यसको न्यूनीकरण तथा पूर्व तयारीका लागि साताव्यापी रूपमा सचेतनामूलक कार्यक्रम गरिएको हो। स्थानीय उपभोक्ता लगायतको सहभागितामा बाँके डुडुवा गाउँपालिकास्थित पशुपति सामुदायिक वनको कार्यालयबाट निस्किएको र्‍यालीले वन क्षेत्र आसपासका बस्तीको परिक्रमा गरी कम्दी मिलन चोकमा पुगेर समापन भएको थियो।

समापन कार्यक्रममा डिभिजन वन कार्यालय नेपालगञ्जका वरिष्ठ अधिकृत राजबहादुर चौधरी, सामुदायिक वन उपभोक्ता महासंघ बाँके जिल्ला अध्यक्ष सावित्रा पुन, सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश सदस्य महेन्द्र शाही, सामुदायिक वन उपभोक्ता महासंघ बाँकेका उपाध्यक्ष रामबहादुर भण्डारी, पालिकास्तरीय स्थानीय महासंघ खजुराका अध्यक्ष महाविर थारु, इलाका प्रहरी कार्यालय कम्दीका इन्चार्ज मोहन केसी, डुडुवा गाउँपालिका स्थानीय महासंघ अध्यक्ष बेलबहादुर बोहरा, प्रेस सेन्टर नेपाल डुडुवाका उपाध्यक्ष दिपशिखा दाहालले वन डढेलोको समस्या तथा नियन्त्रणको सावधानीबारे आ–आफ्नो धारणा राखेका थिए।

र्‍यालीमा सहभागीहरूले वन डढेलो सम्बन्धी सचेतनामूलक सन्देश लेखिएका प्लेकार्ड र नारा लगाएका थिए। डिभिजन वन कार्यालयका अनुसार वन डढेलोले बोटबिरुवा, झारपात र अन्य वनस्पतिको नाश गर्नुका साथै वन्यजन्तुहरूको आवासलाई नष्ट पार्छ र धेरै प्रजातिहरूको जीवनलाई सङ्कटमा पार्छ। यसले जल, माटो र खनिज जस्ता प्राकृतिक स्रोतहरूको पनि विनाश गर्छ।

वन डढेलोको रोकथामका लागि विशेष ध्यान दिनुपर्ने स्थानीय वन विज्ञ डिल्लीबहादुर रावतले बताए। वन क्षेत्रको निगरानी, आगोको स्रोत नियन्त्रण, सम्भावित आगोका क्षेत्रहरूको सफाइ, आगो नियन्त्रण उपकरणको तयारी, वायु र मौसमको अध्ययन र सार्वजनिक सचेतना अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

साताव्यापी कार्यक्रमअन्तर्गत बाँकेको नरैनापुर, राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानमा सचेतनामूलक अभियान सञ्चालन गरिने स्थानीय महासंघका अध्यक्ष बेलबहादुर बोहराले बताए। बाँकेमा मध्यवर्ती र सामुदायिक गरी १७० वटा सामुदायिक वन छन्। गर्मीमा वन क्षेत्रमा डढेलोले ठूलो क्षति पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button