तपाईँ सुन्दै हुनुहुन्छः

प्रतापपुरबाट भूमि आयोगले सुरु गर्‍यो जग्गा नापजाँच, जिल्लामा २१ हजार बढीको आवेदन 

नवलपरासी पश्चिम् । पश्चिम नवलपरासीमा भूमि आयोगले काम सुरु गरेको छ ।

जिल्लाको प्रतापपुर गाउँपालिकाबाट भूमि समस्या समाधान आयोगले जग्गा नापजाँच सुरु गरेको छ । भूमिहीन, दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गा धनी लालपुर्जा वितरणका लागि जग्गा नाप्न सुरु गरिएको हो ।

प्रतापपुरमा १ हजार ६ सय ६८ अव्यवस्थित बसोबासी रहेका छन् । प्रतापपुर गाउँपालिकाको ९ वटै वडामा क्रमैसँग जग्गा नाप्ने काम हुने प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।

जिल्लाको सात वटा पालिकामध्ये पाल्हिनन्दन गाउँपालिकाबाहेक अन्य सबै पालिकामा जग्गा प्राप्तिका लागि भूमिहीन र अव्यवस्थित बसोबासले फाराम भरिसकेका छन् ।

जिल्लामा २१ हजार २ सय २८ जना भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको भूमि समस्या समाधान आयोग नवलपरासीका अध्यक्ष लालबहादुर गुरुङले जानकारी दिनुभयो ।

आयोगका अनुसार सबैभन्दा धेरै बर्दघाट नगरपालिकामा ७ हजार २ सय ७४, सुनवल नगरपालिकामा ६ हजार, सरावल गाउँपालिकामा २ हजार ४ सय ३, सुस्ता गाउँपालिकाका २ हजार ३ सय, प्रतापपुर गाउँपालिकामा १ हजार ६ सय ६८ र रामग्राम नगरपालिकामा १ हजार ५ सय ८३ जनाले फाराम भरेका छन् । 

पाल्हिनन्दन गाउँपालिकामा भने फाराम भर्ने काम अघि बढेको छैन ।सरकार परिवर्तन सँगै पटक पटक आयोगको नेतृत्व परिवर्तन भइरहँदा प्रभावकारी ढङ्गले काम अगाडि बढ्न कठिन हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button