तपाईँ सुन्दै हुनुहुन्छः

गाउँमै पुगेर बिरामीको उपचार गर्दै स्वास्थ्यकर्मी

दार्चुला । मालिकार्जुन गाउँपालिको स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर भारलबाट बिरामी भएकाहरूको उपचार गरिरहेका छन् । गाउँमा भाइरलका बिरामी बढेसँगै दार्चुलाका स्वास्थ्यकर्मी गाउँमै पुगेर उपचार गर्न थालेका छन् । 

मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ का मल्तडीमा भाइरल ज्वरो फैलिएसँगै स्वास्थ्यकर्मी गाउँमै पुगेर उपचार गरेका छन् । दलितको बाहुल्य रहेको मल्तडी बस्तीमा पस्ती आधारभूत अस्पतालका डाक्टर निराजन बोहरा नेतृत्वको टोलीले उपचार गरेको हो । उनीहरूले बिरामीलाई परामर्श सेवा, स्वास्थ्य चेकजाँच गरेका छन् ।

मौसममा आएको परिवर्तनले अहिले बिरामी गाउँभरि बढेको पाइएपछि गाउँमै उपचार थालिएको पस्ती आधारभूत अस्पतालका जनस्वास्थ्य निरीक्षक रामसिंह खत्रीले जानकारी दिए । ‘तीन चार दिनदेखि गाउँमा भाइरल फैलिएको खबर आएसँगै बस्तीमै उपचार गर्न गएका हौँ,’ उनले भने ‘गाउँभरिका १२२ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ ।’ बिरामीहरूमा ज्वरो आउने, खोकी लाग्ने, हातखुट्टा दुख्ने, लगायतका लक्षण देखिएको उनले बताए । बिरामीहरूलाई गाउँमै उपचारसँगै औषधि वितरण गरिएको छ ।

वडामा डाडाकोट स्वास्थ्य चौकी भए पनि पालिका तहबाट विशेषज्ञसहितको उपचार गरिएको हो । यहाँको मालिकार्जुन र दुहुँ गाउँपालिकाका स्वास्थ्यकर्मीले गाउँमै बस्तीमै पुगेर उपचार तथा परामर्श सेवा थालेका हुन् ।

यसैगरी दुहुँ गाउँपालिका वडा नम्बर २ ले गाउँमा एक सातादेखि भाइरल ज्वरो फैलिएको भन्दै वस्तीस्तरमै सेवा दिने भएको छ । हिकिला स्वास्थ्य चौकीले चैत ७ गतेदेखि चैत १२ गतेसम्म सबै बस्तीमा पुगेर चेकजाँच, परामर्श सेवा तथा उपचार र औषधि वितरण गर्ने हिकिला स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक मोहनसिह धामीले जानकारी दिए ।

अहिले जिल्लाका विभिन्न क्षेत्रमा भाइरल ज्वरो, रुघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीको चाप जिल्ला अस्पतालमा समेते बढेको डाक्टर सञ्जीव श्रेष्ठले बताए । उनले भने ‘दिनहुँ भाइरलका बिरामी बढेका छन् । ठाउँ अभावमा उपचार गराउनै समस्या हुने अवस्था आएको छ ।’

जिल्ला अस्पताल, दार्चुलामा दैनिक दुई दर्जनभन्दा बढी भाइरल सङ्क्रमणका बिरामी उपचारका लागि आउने गरेका छन् ।

भाइरल सङ्क्रमणबाट प्रभावित हुनेमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेको सम्बन्धित स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् । बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वास्थ्य समस्याबाट जोगिन पर्याप्त मात्रामा पानी पिउने, भिडभाडबाट टाढा रहने, मास्क लगाउने र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने सुझाव चिकित्सकले दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button