सामुदायिक अस्पतालमा डायलासिस सेवा सुरु गर्दै बर्दघाट नगरपालिका
नवलपरासी,पश्चिम् । बर्दघाट नगरपालिकाले जिल्लामै पहिलो पटक डायलासिस सेवा सुरु गर्ने तयारी गरेको छ ।बर्दघाट नगरपालिका वडा नम्बर १४ चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा तिनवटा मेसिन सहितको डायलासिस सेवा सुरु गर्न थालिएको नगरपालिकाले जनाएको छ ।
जर्मन सरकारको सहयोगमा स्वास्थ्य मन्त्रालयले केही दिनमै नगरपालिकालाई मेसिन हस्तान्तरण गर्ने भएको हो ।पर्याप्त भौतिक पूर्वाधारको व्यवस्था रहेको र सबैलाई पायक पर्ने हुँदा उक्त अस्पतालमा मेसिन जडान गरि सेवा प्रदान गर्ने तयारी भइरहेको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।
“स्वाथ्यमन्त्री प्रदीप पौडेल आउँदा नै हामीले अस्पतालको अवलोकन गराएका थियौँ र डायलासिस सेवा सुरु गर्न मेसिन उपलब्ध गराइदिन अनुरोध गरेका थियौ,निरन्तरको पहलपछि जहाँ सम्म केही दिनमै मेसिन आइपुग्छ”नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।यसले मृगौला पीडित जिल्लाबासी बिरामीहरूका लागि निकै सहज हुने श्रेष्ठले बताउनु भयो ।
मन्त्रालयले मेसिन मात्रै उपलब्ध गराउने जनशक्ति भने सम्बन्धित स्थानीय तह वा अस्पतालले नै व्यवस्थापन गर्नु पर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी प्रकाश बुढाथोकीले रेडियो नेपाललाई बताउनु भयो ।”उहाँहरूले पूर्वाधार र रगत फिल्टरेसनको जनशक्ति व्यवस्थापनको सुनिश्चितता गरेको पत्र पठाइसकेपछि मात्रै मेसिन उपलब्ध हुन्छ”उहाँले भन्नू भयो ।
डायलासिस मेसिन सञ्चालनका लागि उक्त अस्पतालबाट दुई जना स्वास्थ्यकर्मीलाई आवश्यक प्राविधिक तालिमका लागि पठाइने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । एच ए र स्टाफ नर्स सहित दुई जनालाई तालिमका लागि पठाइने सल्लाह भएको अस्पतालका अध्यक्ष डिबि थापाले बताउनु भयो ।
डायलासिस मेसिन जडानपछि एकै पटक ८-१० जना बिरामीले सेवा लिन सक्ने जनाइएको छ ।यस क्षेत्रका मृगौला पीडित नियमित डायलासिस गर्नुपर्ने बिरामी हरू जिल्लामा सुविधा नहुँदा बुटवल,भैरहवा र भरतपुर जानू पर्ने बाध्यता छ ।बर्दघाट नगरपालिकाले डायलासिस गर्नु पर्ने बिरामीका लागि अस्पताल आउजाउका लागि यातायात बापतको शुल्क उपलब्ध गराउँदै आइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्