बर्दियामा ब्राउन सुगरसहित दुई जना पक्राउ
बर्दिया । बर्दियामा २४ ग्राम १०० मिली ग्राम लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मधुवन नगरपालिका वडा नम्बर ८ का २५ वर्षीय माधव चन्द र २४ वर्षीय अर्जुन कुँवर रहेका छन्।
प्रहरीले उनीहरुलाई मैनापोखरमा सवारी साधन चेकजाँच गर्ने क्रममा गुलरियाबाट नेपालगञ्जतर्फ गइरहेको भे १ ख ४२४७ नम्बरको फोर्स गाडीमा फेला पारेको हो। गाडीमा यात्रा गरिरहेका उनीहरुलाई शंका गरी चेकजाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
उनीहरूलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय मैनापोखरमा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कृष्ण डाँगीले बताउनु भयो।
आइतबार मात्र, बढैयाताल गाउँपालिकामा इलाका प्रहरी कार्यालय मैनापोखरले ४ ग्राम २३० मिलीग्राम लागू औषधसहित दुई जनालाई पक्राउ गरेको थियो। पछिल्लो समयमा बर्दियामा लागू औषधसहित पक्राउ पर्ने संख्या बढेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, गत साउन महिनादेखि फागुन महिनासम्म ९१ जना लागू औषधसहित पक्राउ परेका छन्, जसमा तीन जना महिला छन्। अधिकांश पक्राउ परेका व्यक्तिहरु बढैयाताल गाउँपालिका क्षेत्रका हुन्। चैत महिनामा लागू औषधसहित चार जना पक्राउ परेका छन्।
प्रतिक्रिया राख्नुहोस्