तपाईँ सुन्दै हुनुहुन्छः

जनप्रतिनिधिको सुविधा कटौती गरी आइसोलेशन कक्ष स्थापना

कञ्चनपुर। कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जनप्रतिनिधिको सुविधामा खर्च हुने रकम कटौती गरी दुई ठाउँमा पाँच÷पाँच शय्याका आइसोलेसन कक्ष स्थापना गरेको छ ।

नगरपालिका–१० स्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको भवन र वडा नं ४ को राष्ट्रिय माध्यमिक विद्यालयमा आइसोलेशन कक्ष निर्माण गरेको हो । आइसोलेशन कक्षका लागि आवश्यक सामग्री खरिदका लागि जनप्रतिनिधिको सेवा सुविधाबाट कटौती हुने गरी रु २० लाख बजेट परिचालन गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो । “आज साँझसम्म आवश्यक सामग्री खरिद गरी आइसोलेशन कक्षमा राखिसक्छौँ”, उहाँले भन्नुभयो, “कक्षका लागि स्वास्थ्यकर्मीको दुई टोली तयारी अवस्थामा राखिएको छ ।” आइसोलेशन कक्षको व्यवस्थापनका लागि कार्यान्वयन टोलीसमेत छुट्टै गठन गरिएको नगर प्रमुख ऐरले जानकारी दिनुभयो ।

भारतमा कोरोना भाइरसको महामारी फैलिएपछि होटेल, बजार, उद्योग बन्द भएसँगै त्यसमा कार्यरत नेपालीहरु धमाधम घर फर्किन थालेकाले जोखिमलाई मध्यनजर गर्दै आइसोलेशन कक्ष तयार गरिएको उहाँको भनाइ छ । “भारतबाट फर्केकाहरुलाई घरमै क्वारेन्टाइनमा बस्न भनेका छौँ”, उहाँले भन्नुभयो, “कोरोनाका लक्षण देखा परे तत्कालै एम्बुलेन्समार्फत आइसोलेशन कक्षमा ल्याएर उपचार गर्ने व्यवस्था गरिएको छ ।”

यसैबीच, नेपाल रेडक्रस सोसाइटी उपशाखाले समेत नगरपालिकाका ठाउँ ठाउँमा पुगेर कोरोनाका लक्षण, सर्ने तरिका र यसबाट बच्ने उपायबारे स्थानीय बासिन्दाका घर घरमा पुगेर सचेत गराउने कार्यसमेत गरिरहेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित हुने तरिकाबारे स्थानीय बासिन्दालाई बताउँदै आएको उपशाखाका सभापति शेरबहादुर साउदले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाका १२ वटै वडामा पुगेर पर्चा पम्प्लेट, ब्यानरबाट सचेतना गर्ने कार्य भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button