बाजुरा अस्पतालमा दरबन्दी अभाव, अस्पताल चलाउनै मुस्किल
बाजुरा । जिल्ला अस्पताल बाजुरामा स्वीकृत दरबन्दी सङ्ख्या कम हुँदा उपचार सेवा प्रभावित भएको छ।

५० शय्या सञ्चालनमा रहेको अस्पतालमा आवश्यक दरबन्दी नहुँदा उपचार सेवा प्रभावकारी हुन नसकेको अस्पतालले जनाएको छ । ५० शय्या अस्पतालमा स्वीकृत दरबन्दी अपुग हुँदा अस्पताल चलाउनै मुस्किल भएको अस्पतालको भनाइ छ ।
अस्पताल बाजुरामा १८ जनाको स्वीकृत दरबन्दी रहेको छ । उक्त दरबन्दी अनुसार ५० शय्याको अस्पताल धान्न समस्या भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्र शेखर यादवले बताउनुभयो । डाक्टर यादवका अनुसार दरबन्दी भए अनुसार पनि अस्पतालमा डाक्टरहरू नभएकाले उपचार सेवामा निकै समस्या हुने गरेको छ।
१८ जना स्वीकृत दरबन्दीमा हाल १० जना कर्मचारीहरूको मात्र पदपूर्ति रहेको डाक्टर यादवले बताउनुभयो ।
अस्पतालमा ६ जना मेडिकल अफिसर, दुई जना विशेषज्ञ र एक जना डेन्टल सर्जन, एक जना स्त्रीरोग विशेषज्ञ र एक जना हाडजोर्नि तथा नशा रोग विशेषज्ञ डाक्टर मात्र कार्यरत रहेका अस्पतालका सूचना अधिकारी नृप गिरिले जानकारी दिनुभयो।
आवश्यक दरबन्दी नहुँदा अस्पतालले दिनुपर्ने जटिल प्रकारका उपचार सेवा दिन निकै समस्या भइरहेकाले अधिकांश बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पताल बाजुराले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्