तपाईँ सुन्दै हुनुहुन्छः

बैजनाथमा साप्ताहिक हाटबजार सञ्चालन

बाँके।केयर नेपाल र आईआरभीको आर्थिक सहयोग तथा बैजनाथ गाउँपालिकाको समन्वयमा बि-ग्रुप नेपालगञ्जले पोषण कार्यक्रम अन्तर्गत हजार दिनका आमा र विपन्न किसानलाई जोड्न साप्ताहिक हाटबजार सञ्चालन गरेको छ।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले हाटबजारको प्रभावकारी सञ्चालनमा खुशी व्यक्त गर्दै यसको दिगो विकासका लागि तारबार तथा तरकारी भण्डारण केन्द्र स्थापनाका लागि बजेट विनियोजन गर्ने बताए। उनले बैजनाथ कृषि क्षेत्रका लागि उपयुक्त भूमि भएको बताउँदै किसान कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

वडा नं. ३ का अध्यक्ष निखिल बैगारका अनुसार, किसानले उत्पादन गरेका कृषि उपजको बजारिकरण गर्न प्रत्येक शुक्रबार हाटबजार सञ्चालन गरिनेछ। उनले विपन्न समुदायका लागि पोषिलो तथा अर्गानिक तरकारी उपलब्ध गराउने उद्देश्यले हाटबजार सुरु गरिएको बताए।

गाउँपालिकाले किसानलाई व्यवसायिक कृषिमा प्रोत्साहन गर्न आवश्यक उपकरण हस्तान्तरण गरेको छ। साथै, तरकारी ओसार-पसारका लागि १० जना कृषकलाई तिनपांग्रे रिक्सा प्रदान गरिएको छ।

बि-ग्रुप नेपालगञ्जका कार्यकारी निर्देशक डम्मर सुनारले बाँकेका पाँच गाउँपालिकामा पोषण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार, ५-५ सय किसानलाई किसान कार्ड मार्फत सहयोग उपलब्ध गराउँदै हाटबजारमार्फत कृषि उपजको बजारिकरण भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button