तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा यसवर्ष आलु उत्पादन वृद्धि हुने अनुमान

पर्वत । आलु खेतीको क्षेत्रफल विस्तारसँगै अनुकूल मौसमका कारण यस वर्ष जिल्लामा आलु उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । 

आलु उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सुरु भएको आलु विस्तार कार्यक्रमअन्तर्गत यही हिउँदमा एक हजार ४५० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो । 

यस वर्ष प्रतिहेक्टर १५ मेट्रिक टनका दरले आलु उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । जसअनुसार हिउँदमा मात्र करिब २२ हजार मेट्रिक टन आलु उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो । सरदर प्रतिकेजी रु ४० का दरले किसानले आलु बिक्री गर्दा करिब रु ८७ करोड आम्दानी हुने अनुमान छ । 

जिल्लामा गत आर्थिक वर्ष २०८०र८१ मा एक हजार ३९० हेक्टर क्षेत्रफलमा आलुखेती गर्दा २० हजार ३३० मेट्रिक टन आलु उत्पादन भएको थियो । 

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सोविता सुवेदीका अनुसार विभिन्न पकेट क्षेत्रमा ६१ वटा कृषक समूहलाई आलु उत्पादनमा रु एक करोड ४७ लाख अनुदान वितरण गरिएको छ । बीउ खरिदमा ७० प्रतिशत, यान्त्रिकीकरणमा ५० प्रतिशत, सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत र बजारीकरण तथा ‘प्याकेजिङ’मा ७५ प्रतिशत अनुदान दिइएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । 

जलजला गाउँपालिकाका १६ कृषक समूहले आलु उत्पादनमा अनुदान लिएका छन् । अनुदान पाउन कम्तीमा कृषक समूहले ३० रोपनी बढी क्षेत्रफलमा सामूहिक आलुखेती गरेको हुनुपर्छ । 

मोदी गाउँपालिकाका–४, ५, ६, ७, ९ स्थित लेसपार, क्याङ, छापा, बाजुङलगायत करिब ४५० रोपनी क्षेत्रफलमा आठ कृषक समूहले खायन आलुखेती गरेका छन् । कुश्मा नगरपालिकाका आलु पकेट क्षेत्र पाङ, खुर्कोट, आर्थरलगायतमा २२५ रोपनी बढी क्षेत्रफलमा कृषकहरूले आलु गरिरहेका छन् ।  फलेवास नगरपालिकाको मुडिकुवा, शङ्करपोखरी, कुर्घा, लिमिठाना, चिर्दीखोलालगायतका किसानले २२० रोपनी क्षेत्रफलमा सामूहिक आलुखेती गरेका छन् । 

यसैगरी, दक्षिण पर्वतको पैयूँ गाउँपालिकाको हुवास क्षेत्र, महाशिला गाउँपालिकामा ६ वटा कृषक समूह आलुखेती गरिरहेका छन् ।

कृषि ज्ञान केन्द्र प्रमुख परशुराम अधिकारीले गत वर्षभन्दा यस वर्ष आलु उत्पादन वृद्धि हुने बताउनुभयो । हाल कृषकहरु आलु खन्ने चटारोमा रहेकाले अबको एक महिनापछि आलु उत्पादनको यकिन तथ्याङ्क प्राप्त हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button