वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु

काठमाडौं I देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा शुरु भएको छ ।
बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा शुरु गरेको हो । अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरूमा दुवै सिफ्टमा अपरेशन आरम्भ गरिएको बताउनुभयो ।
यसअघि अस्पतालमा एक सिफ्टमा मात्र अपरेशन सेवा उपलब्ध भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पताललाई दुवै सिफ्टमा ओपिडी सेवा आरम्भ गर्न भन्नुभएको थियो । सोहीअनुसार कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ । वीरले ओपिडी र सार्वजनिक बिदामा सेवा दिँदै आए पनि दुवै सिफ्टमा अपरेशन बल्ल शुरु गरेको हो ।
अहिले बढी बिरामीको चाप भएका केही सेवा दुवै सिफ्टमा शुरु भएका छन्, उहाँले भन्नुभयो, बिस्तारै बाँकी अरू सेवालाई पनि दुई सिफ्टमा लैजाने योजना छ । आन्तरिक जनशक्ति र श्रोतबाटै व्यवस्थापन गरेर सेवा आरम्भ गरिएको निमित्त निर्देशक गौतमले बताउनुभयो ।
दुवै सिफ्टमा हुने अपरेसनका कारण यसअघि सेवा पाइरहेका भन्दा धेरै बिरामीले लाभ लिन सक्ने र उनले बताए । डा. गौतमले निमित्त निर्देशक भएलगत्तै एक साताभित्र यस्तो सेवा आरम्भ गर्ने घोषणा गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्