तपाईँ सुन्दै हुनुहुन्छः

निजी क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभएको छ । 

विराटनगरमा आज ट्रक व्यवसायी सङ्घ विराटनगरको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकार एक्लैले सबै थोक गर्न नसक्ने भएकाले सहकार्य गरेर अगाडि बढ्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने तयारी गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनले प्रदेशमा लगानीको वातावरण बन्ने र निजी क्षेत्रसँगको सहकार्य पनि वृद्धि हुने बताउनुभयो । 

प्रदेश सरकार सुशासन कायम गर्दै विकास र समृद्धितर्फ अगाडि बढेको र असारे विकासलाई निरुत्साहन गर्न समेत लागिपरेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले सुशासन मार्फत समृद्धि हासिल गर्ने बताउनुभयो । 

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकार यातायात क्षेत्रको सुधारका लागि लागिपरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा ट्रक व्यवसायीहरूले आफूहरूले भोग्नुपरेका समस्याबारे मुख्यमन्त्रीलाई अवगत गराउनुभएको थियो । कार्यक्रममा ढुवानी व्यवसायी शम्भुप्रसाद भट्टराईले ढुवानीका क्षेत्रको समस्या समेत सम्बोधन गर्नका लागि आग्रह गर्नुभयो । व्यवसायी मेघराज सिग्देलका अनुसार अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button