विद्युत् अभावमा जिल्ला अस्पताल हुम्लाको सेवा प्रभावित

सिमकोट (हुम्ला)। विद्युत् आपूर्ति नियमित नहुँदा जिल्ला अस्पताल हुम्लाको स्वास्थ्य सेवा प्रभावित बनेको छ । हिउँद याममा दैनिक विद्युत् भारको कटौतीले जिल्ला अस्पतालको सेवा प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. प्रतीक्षा भारतीले बताउनुभयो ।
अस्पतालमा एक्स–रे, प्रयोगशाला र दमका सेवाहरू सञ्चालनमा कठिनाइ भएको उहाँले बताउनुभयो । दैनिक दर्जनौँ बिरामी मर्कामा पर्ने गरेका छन् । अस्पतालमै विद्युत् अनियमित भएपछि बिरामीहरूलाई दिनभर कुराउनाका साथै टाढाबाट आएकाहरू बढी समस्यामा पर्ने गरेको उहाँको भनाइ छ ।
तीन, चार दिनयता घाम नलागेर बाक्लो बादल लागेका कारण अस्पतालको सौर्य ऊर्जाले काम नगरेको र हेल्दुम वितरण केन्द्रले ‘लोडसेडिङ’ १४ घण्टासम्म गर्नुले थप समस्या भएको हो । अस्पतालका शय्यामा भर्ना भएका ६ जना दमका बिरामीलाई अक्सिजन दिन समस्या भएको छ । अधिकांश दमका बिरामीलाई फर्काउनुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ ।
विद्युत् कार्यालयले भने खोलामा पानी कम भएका कारण सदरमुकाम सिमकोटसहित आसपासमा विद्युत् भारको कटौती जनाएको छ । विद्युत् कार्यालय प्रमुख जीतेन्द्र शाहले अस्पतालमा नियमित विद्युत् उपलब्ध गराएको दाबी गर्नुभयो । “अस्पतालको आन्तरिक समस्याले विद्युत् लाइन उपलब्ध नभएको हुनसक्छ, हामीले अस्पताललाई विद्युत् कटौती गरेका छैनौँ”, प्रमुख शाहले भन्नुभयो ।
अस्पताल मात्रै नभएर अन्य कार्यालय, स्थानीय उद्योग र स्थानीयसमेत विद्युत् कटौतीको मारमा परेका छन् ।
प्रतिक्रिया राख्नुहोस्