श्रमदानबाट ढुङ्गे पार्क निर्माण गरिँदै

धरान (सुनसरी) । धनकुटाको पाख्रिबासबाट आउनुभएका मूर्तिकार शङ्कर बराइलीले यहाँको खैरेनीटारमा ढुङ्गामा विभिन्न कलात्मक आकृति कुँद्न थाल्नुभएको महिनौँ बितिसकेको छ । विभिन्न व्यक्तिका आकृति कुँदिरहनुभएका उहाँले श्रमदानका रूपमा काम गरिरहेको बताउनुभयो ।
सानैदेखि मूर्ति बनाउनमा रुचि राख्ने बराइलीले धरान उपमहानगरपालिका–४ खैरेनीटारमा श्रमदानबाट निर्माण भइरहेको ढुङ्गे पार्कमा अझ आफ्नो कलालाई निखारी रहनुभएको छ । उहाँ भन्नुहुन्छ, “मैले आफ्नो सीपलाई विकास, समृद्धि र पर्यटनमा उपयोग गर्न पाउँदा खुसी छु ।” फोहोर मैला र झाडीले ढाकेको ठाउँलाई व्यवस्थित गरेर ढुङ्गामा कलात्मक आकृतिहरु कुँदेर ढुङ्गे पार्क निर्माण भइरहेको छ । स्थानीय कला संस्कृति झल्काई श्रम संस्कृतिको नमूनाको विकास गर्न ढुङ्गे पार्क निर्माण थालिएको ढुङ्गे कला पार्क निर्माण परियोजनाका व्यवस्थापक भैरव आङ्लाले जानकारी दिनुभयो । “वनमारा र झाडी देख्दा विरक्त लाग्ने ठाउँ थियो । यो ठाउँलाई आन्तरिक र बाह्य पर्यटकको घुम्ने थलो निर्माण थालिएको हो”, उहाँले भन्नुभयो ।
धरानका नगर प्रमुख हर्क साम्पाङ राईको नेतृत्वमा श्रमदान गरी निर्माण गरिएका दर्जनौँ पार्क छन् । अझ धरानलाई थप उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोचका साथ ढुङ्गे पार्क निर्माण थालिएको हो । पार्क निर्माणमा विभिन्न सङ्घसंस्था र दाताहरुको सहयोग छ । पार्कमा हाल खोटाङ, ओखलढुङ्गा, धनकुटा, मोरङ र सुनसरीका आठ जना मूर्तिकारहरूले मूर्ति बनाइरहनु भएको छ । श्रमदानबाट बनाइएका पार्कले धरानमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पर्यटन प्रवर्धन हुने धरान उपमहानगरपालिका–४ का वडाध्यक्ष धनबहादुर राईले बताउनुभयो ।
यस पार्कमा जीवित व्यक्तिका आकृतिहरू कुँदिएका छन् । जुन ऐतिहासिक र सांस्कृतिक रूपमा महत्त्वपुर्ण हुने वडाध्यक्ष राईले बताउनुभयो । पार्कमा डा. सन्दुक रुइत, कुलमान घिसिङ, महावीर पुनलगायत दर्जनाैँ व्यक्तिका आकृति, स्थानीय कलासंस्कृति झल्किने आकृति कोरिएका छन् । ढुङगे कला पार्कमा आउने पर्यटकले यो ठाउँलाई देशविदेशमा चिनाउने खैरैनीटारका स्थानीयवासी आनन्द राईले बताउनुभयो । पार्क निर्माण सम्पन्न नहुँदै ढुङ्गाबाट बनाइएका विभिन्न किसिमका आकृतिहरूले पर्यटकको ध्यान खिच्न सुरु गरिसकेको छ । हाल दैनिक १०० बढी पर्यटकहरु पुग्ने गरेको स्थानीयवासी राईले बताउनुभयो ।
यस पार्कमा स्वतन्त्र नागरिक समाज (म्याक्स टिम)ले धरान उपमहानगरपालिका–४ को १६ फिट अग्लो ४ नंको स्तम्भ श्रमदानबाट निर्माण गरेका छन् । श्रमदानबाट बन्दै गरेको ढुङ्गे पार्कमा आकर्षण थप्न स्तम्भ निर्माण गरेको स्वतन्त्र नागरिक समाजका मेघबहादुर राईले बताउनुभयो ।रासस
प्रतिक्रिया राख्नुहोस्