विकासका लागि राजनीतिक स्थिरता जरुरी : अध्यक्ष प्रचण्ड
जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको आर्थिक तथा औद्योगिक विकास विना मुलुकको विकास र समृद्धि कठिन हुने बताउनुभएको छ ।

जनकपुरधामका उद्योगी व्यवसायीहरुसंग जनकपुरधाम उद्योग वाणिज्य सङ्घमा आज साँझ आयोजित भेटघाटमा उहाँले राजनीतिक स्थिरता तथा सुशासनका लागि कार्यकारी शासकीय प्रणाली आवश्यक भएको बताउँदै अहिलेको शासकीय प्रणालीमा मुलुकमा राजनीतिक स्थिरता ल्याउन कठिन हुने बताउनुभयो ।
उहाँले जनकपुरधाम नेपालको ऐतिहासिक शहर भए पनि यस ठाउँमा बढी राजनीतिकरण भएका कारणले मधेशका वीरगञ्ज तथा विराटनगर भन्दा पनि पछाडि परेको बताउँदै अब जनकपुरधामको विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा व्यापारीहरूले नेपालको आर्थिक, औद्योगिक विकासमा भएको कमी, युवा पलायन जस्ता विकृतिका विषयमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गर्दै जिज्ञासा गर्नुभएको थियो ।

आजै प्रचण्डले सहिद परिवारका सदस्यहरूसँग भेटेर सहिदहरूको समस्याका विषयमा पार्टी जानकार भएको बताउँदै आफूले सहिद परिवारलाई सक्दो सहयोग गर्ने पक्षमा रहेको बताउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्