तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा बारामा गहुँ तथा तरकारी खेतीमा लाही कीराको प्रकोप

बीरगंज । गहुँ तथा तरकारी खेतीमा लाही कीराको प्रकोप देखिएपछि पर्सा, बारा जिल्लाका किसानहरू पीडित भएका छन् ।

किसानहरूले लगाएका गहुँ, र हरिया तरकारी खेतीहरूमा लाहीको प्रकोप बढेको हो । 

पर्सागढी नगरपालिका बडा नम्बर ४ का किसान भुवन पौडेलले लाही कीराविरुद्ध औषधि छरिएको तर प्रकोप कम नभएका भन्नुहुँदै गहुँ, र हरिया तरकारी खेती गरेका किसानहरू मुख्य रूपमा पीडित भएको बताउनुभयो ।

पर्सागढी नगरपालिकाको कृषि शाखाका सहायक हरेराम महतोले लाही कीरा छोटो अवधिमा ठुलो सङ्ख्यामा वृद्धि हुने भएकाले अहिले बालीहरूलाई क्षति पुगेको बताउनुभयो । 

लाही कीरालाई व्यवस्थापन गर्नका लागि किसानहरूले सन्तुलित मल खादको प्रयोग गर्नुपर्ने, बढी नाइट्रोजनयुक्त मल खादको प्रयोग गर्दा पात कलिला भएर लाही कीराको प्रकोप बढ्न सक्ने हुँदा सचेत हुन उहाँले आग्रह गर्नुभयो । 

उहाँले उमेर पुगेका र कडा खालका बिरुवामा पानीको फोहोराबाट सिँचाई गर्दा समेत लाही कीरा नियन्त्रण हुने जानकारी दिनुहुँदै नीमजन्य विषादी एजाडिरेक्टिन १५०० पिपिएममा २.५ प्रतिलिटर पानी मिसाएर सातामा दुई÷तीन पटकसम्म बिरुवामा छर्न सुझाव दिनुभयो । 

साथै लाही कीरालाई मार्न साबुन पानीको झोल, एक भाग खरानी र सोको अनुपातमा चार भाग पानी मिश्रण गरी १२ घण्टापछि छानेर त्यसमा प्रतिलिटर १० ग्राम साबुन मिसाएर छर्न सकिने तथा  गाईको पिसाबमा एक भाग बराबर पाँच भाग पानी मिसाएर छर्दा पनि लाहीको प्रकोप नियन्त्रण हुने कृषि विज्ञ हरुले बताएका छन् । 

गहुँ र हरिया तरकारीलाई लाहीले कालो पार्ने हुँदा किसानहरूलाई उपलब्ध सुविधा अनुसारको उपचार विधि अवलम्बन गर्न कृषि विज्ञहरूले सुझाव दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button