अध्यादेश पास हुनासाथ ठोरीवासीले लालपूर्जा प्राप्त गर्छन् : मन्त्री अधिकारी
वीरगञ्ज । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले ल्याएको भूमि सम्बन्धि अध्यादेश पास हुनासाथ ठोरीवासीले लालपुर्जा प्राप्त गर्ने बताउनुभएको छ ।

पर्साको ठोरी गाउँपालिकाद्वारा आज ठोरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सरकार ऐन कानुन निमार्ण, अनधिकृत रुपमा प्रयोग भएका र अनुचित ढङ्गले कब्जा गरिएको सरकारी जग्गा फिर्ता ल्याउने कार्यमा जुटिरहेको बताउनुभयो ।
मन्त्री अधिकारीले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको व्यवस्थापनको लागि भूमि ऐन अध्यादेश मार्फत ल्याइएको र यसलाई संसदबाट पास गराउन सरकार जुटिरहेको बताउनुभयो ।
त्यसैगरी मन्त्री अधिकारीले करिब ७५ लाखभन्दा बढी जनसङ्ख्या प्रत्यक्ष रुपमा जोडिएको सहकारी क्षेत्रमा देखिएको समस्या समाधान मन्त्रालयको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा मन्त्री अधिकारीलाई ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ लगायत स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा सहितको टोलीले ठोरीको सुकुम्बासी सम्बन्धी समस्या समाधानका लागि आग्रह गरेको थियो ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष श्रेष्ठले ज्ञापनपत्र बुझाउँदै ठोरीका जनताको माग तत्काल सम्बोधन गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद सेराज फारुकी, भूमि मन्त्रालयका सचिव अर्जुन कुमार पोखरेल, पर्साका मालपोत प्रमुख अशोक कुमार भट्टराई, पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण विष्ट, ठोरी गाउँपालिका उपाध्यक्ष गोकुली रेग्मी लगायतको सहभागिता रहेको थियो ।
यसैगरी मन्त्री अधिकारीले आजै ठोरीमा रहेको छोटी भन्सार कार्यालयको समेत स्थलगत अवलोकन गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्