दाङमा विद्युत् बक्यौता २ अर्ब ६६ करोड

दाङ । दाङमा विद्युत् बक्यौताको रकम दुई अर्ब ६६ करोड रहेको छ।
नेपाल विद्युत् प्राधिकरणको विद्युत् महसुल सङ्कलन नियमावली, २०७८ को नियम १० को ‘विद्युत् लाइन काट्नेसम्बन्धी व्यवस्था’ मा मिटर रिडिङ गरेको ६० औँ दिनसम्म विद्युत् महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काटिने व्यवस्था छ ।
जिल्लाभर रहेका एक लाख ४८ हजार दुई सय ८१ ग्राहक मध्ये विद्युत् महसुल नबुझाएको ६० दिन समय कटेका ग्राहक १३ हजार आठ सय ७७ छन् । जसको बक्यौता दुई अर्ब ६६ करोड १३ लाख ४२ हजार १८ रुपैयाँ बाँकी छ ।
नेपाल विद्युत् प्राधिकरणको तीन वटै वितरण केन्द्रको रिपोर्ट अनुसार जिल्लामा तीन ठूला सिमेन्ट उद्योग बाहेकका ग्राहकको १७ करोड ८९ लाख ४७ हजार सात सय ४५ रुपैयाँ बक्यौता बाँकी छ । जबकि तीन सिमेन्ट उद्योगकै दुई अर्ब ४८ करोड २३ लाख ९४ हजार दुई सय ७३ रुपैयाँ विद्युत् प्राधिकरणको बाँकी बक्यौताको लिस्टमा छ ।
नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रअन्तर्गत हालसम्म ११ हजार नौ सय ९८ ग्राहकको दुई अर्ब १३ करोड ५४ लाख ७१ हजार तीन सय ६८ रुपैयाँ बक्यौता बाँकी रहेको छ ।
नेपाल विद्युत् प्राधिकरण लमही वितरण केन्द्रअन्तर्गत लाइन काट्ने लिस्टमा एक सय ४६ ग्राहक छन् । जसको बाँकी बक्यौता चार करोड ७४ लाख छ ।
महसुल नतिरी ६० दिन नाघेको एक हजार सात सय ३३ ग्राहकको बक्यौता रकम तीन करोड १३ लाख ९२ हजार तीन सय ३६ रुपैयाँ बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रको रेकर्डमा छ ।
प्रतिक्रिया राख्नुहोस्