तपाईँ सुन्दै हुनुहुन्छः

स्वच्छ र मर्यादित पत्रकारिताका लागि अभिमुखीकरण सम्पन्न

रौतहट । मिडिया काउन्सिल मधेश प्रदेशद्वारा आयोजित “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ ।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको मिडिया काउन्सिलले चन्द्रनिगाहपुरस्थित गौतम होटलमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रम मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का निवर्तमान अध्यक्ष तथा वरिष्ठ प्रशिक्षक धर्मेन्द्र झाले पत्रकारितामा आचारसंहिताको महत्व, जिम्मेवार समाचार सम्प्रेषण, तथ्यमा आधारित पत्रकारिता तथा सञ्चार माध्यमको विश्वसनीयता कायम राख्ने विषयमा प्रशिक्षण दिनुभएको थियो ।

अभिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासङ्घ केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य शिव पुरी, नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष संजय कार्की लगायत जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमका वक्ताहरूले पत्रकारिता क्षेत्रलाई थप मर्यादित, उत्तरदायी र जनविश्वासयोग्य बनाउन पत्रकारहरूले आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो । सहभागी सञ्चारकर्मीहरूले बदलिँदो सञ्चार परिवेशमा सत्य, निष्पक्ष तथा जिम्मेवार पत्रकारिताको आवश्यकता अझ बढ्दै गएको धारणा व्यक्त गरेका थिए ।

मिडिया काउन्सिल मधेश प्रदेशले पत्रकारहरूको क्षमता अभिवृद्धि, व्यावसायिक दक्षता विकास तथा उत्तरदायी पत्रकारिताको प्रवर्द्धनका लागि यस्ता अभिमुखीकरण कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button