बाढीले मेची राजमार्ग मर्मतका सामग्री बगायो, इलाम–झापा द्रुतमार्ग अवरुद्ध
इलाम। बिहीबार राति आएको अविरल वर्षासँगै माइखोलामा आएको बाढीले मेची राजमार्ग र इलाम–झापा द्रुतमार्गमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण राजमार्ग मर्मतका सामग्री बगाउनुका साथै निर्माणाधीन तथा तयारी बेलिब्रिजमा क्षति पुग्दा यातायात सेवा प्रभावित भएको छ।

मेची राजमार्गको राजदुवाली खण्डमा क्षति
सडक डिभिजन कार्यालय इलामका अनुसार माइखोलाको बाढीले मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९, राजदुवाली खण्डमा सडक मर्मतका लागि राखिएका तारजाली, पाइप तथा केही मेसिनरी उपकरणहरू बगाएको छ।
गत असोजको पहिरोले क्षति पुर्याएको उक्त खण्डमा खोलाको सतहबाटै पर्खाल उठाएर सडक निर्माण भइरहेको थियो। काम सहजताका लागि आवश्यक सामग्री खोलाकै बगरमा राखिएकाले बाढीले क्षति पुर्याएको सडक डिभिजन प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो।
“बगर ढाक्ने गरी आएको बाढीले मर्मतका सामग्री बगाएको छ,” भट्टराईले भन्नुभयो, “अब पुनः सामग्री सङ्कलन गरेर मात्र काम अघि बढाइनेछ।”

सामग्री बगाउनुका साथै सोही खण्डमा जमेको लेदो र हिलोका कारण ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। साना सवारीसाधनहरू पनि निकै जोखिम र कठिनाइका साथ चलिरहेको सडक डिभिजनले जनाएको छ।
द्रुतमार्गका दुई बेलिब्रिजमा क्षति, सडक पूर्ण अवरुद्ध
यता इलाम–झापा द्रुतमार्ग अन्तर्गत बेलासे माइखोलामा निर्माणाधीन बेलिब्रिजमा पनि बाढीले क्षति पुर्याएको छ।
यस्तै, सोही सडक खण्डको पुवाखोलामा निर्माण गरिएको अर्को बेलिब्रिज भने बाढीले पूर्ण रूपमा बगाएको छ। बेलिब्रिज नै बगेपछि उक्त सडक खण्डमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सडक अवरुद्ध भएसँगै यात्रीहरू अलपत्र परेका छन्।








प्रतिक्रिया राख्नुहोस्