तपाईँ सुन्दै हुनुहुन्छः

खजुरामा भान्सा सुधार अभिमुखीकरण, स्वस्थ जीवनशैली प्रवर्द्धनमा जोड

बाँके । स्वस्थकर जीवनशैली प्रवर्द्धन तथा नसर्ने रोगहरूको न्यूनीकरण गर्ने उद्देश्यले खजुरा गाउँपालिकामा भान्सा सुधारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

खजुरा गाउँपालिका अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रममा सहभागीहरूले स्वस्थ जीवनको आधार स्वस्थ भान्सा भएको बताएका छन्। कार्यक्रममा दैनिक रूपमा प्रयोग गरिने खाद्यवस्तुको छनोट, तयारी तथा उपभोगमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको थियो ।

गृहिणी आमा, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, होटल व्यवसायी, राजनीतिक तथा समाजसेवी व्यक्तिहरूको सहभागिता रहेको कार्यक्रममा स्वस्थकर खानपानको संस्कार विकास गर्न सके मधुमेह, उच्च रक्तचाप, मुटुरोगलगायत नसर्ने रोगहरूको जोखिम न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरिएको थियो ।

सामाजिक विकास संयोजक कृष्णाकुमारी पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले अधिकांश रोगहरूको सुरुआत अस्वस्थ खानपान र भान्साको अव्यवस्थित व्यवस्थापनबाट हुने भएकाले विशेषगरी गृहिणी महिलाहरू सचेत हुन आवश्यक रहेको बताए। उनले परिवारको स्वास्थ्य संरक्षणका लागि पोषणयुक्त खानाको प्रयोग तथा भान्साको सरसफाइ र व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

कार्यक्रमकी अध्यक्ष पोखरेलले स्वस्थ जीवनको मूल आधार स्वस्थ भान्सा रहेको बताउँदै आफ्नै घरको भान्सामा सुधार गर्न सके मात्र दीर्घायु, निरोगी र गुणस्तरीय जीवनयापन सम्भव हुने बताइन्। उनले रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्न नदिन वातावरण सिर्जना गर्नु आवश्यक रहेको उल्लेख गरिन् ।

अभिमुखीकरण कार्यक्रममा सहभागीहरूलाई स्वस्थकर खानपान, पोषणयुक्त आहार, स्थानीय उत्पादनको उपयोग तथा नसर्ने रोगहरूको रोकथामसम्बन्धी जानकारी प्रदान गरिएको थियो। कार्यक्रमको सहजीकरण नागरिक आरोग्य सेवा केन्द्र खजुराका प्रमुख किरण खनालले गरेका थिए भने बाँके जिल्ला आयुर्वेद कार्यालयले प्राविधिक सहयोग गरेको थियो ।

कार्यक्रमले स्वस्थकर जीवनशैली अपनाउने, पोषणयुक्त खानाको प्रयोग बढाउने तथा घरपरिवारमै स्वास्थ्य प्रवर्द्धन गर्ने अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button